अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण


काठमाडौं । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको वार्षिक संयुक्त सैन्य अभ्यास ‘उल्ची फ्रिडम शिल्ड’ (Ulchi Freedom Shield) सुरु हुन केही दिनअघि आफ्नो पूर्वी समुद्री क्षेत्रमा एक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले विगतदेखि नै यस्ता संयुक्त सैन्य अभ्यासलाई ‘आक्रमणको पूर्वाभ्यास’ भन्दै विरोध गर्दै आएको छ ।

यो प्रक्षेपण एक साताभित्र उत्तर कोरियाले गरेको दोस्रो क्षेप्यास्त्र परीक्षण हो । पछिल्लो समय रूससँग बढ्दो सैन्य सहकार्य र उत्तर कोरियाको विस्तार हुँदै गएको हतियार कार्यक्रमलाई लिएर क्षेत्रीय तनाव चुलिएको अवस्थामा यो घटना भएको हो ।

उत्तर कोरियाले तत्काल यस प्रक्षेपणबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर प्योङयाङले विगतदेखि अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको कडा विरोध गर्दै आएको छ । उता अमेरिका र दक्षिण कोरियाले भने यी अभ्यासहरू पूर्ण रूपमा रक्षात्मक प्रकृतिका भएको र सम्भावित उत्तर कोरियाली आक्रमणको सामना गर्न तयारीस्वरूप सञ्चालन गरिने बताएका छन् ।

दक्षिण कोरियाको संयुक्त सैन्य प्रमुख कार्यालय (Joint Chiefs of Staff) का अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ६ बजे (२१:०० GMT) उत्तर कोरियाको काङ्वोन प्रान्तस्थित वोनसान क्षेत्रबाट एक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।

क्षेप्यास्त्र करिब ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्दै कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा खसेको दक्षिण कोरियाले जनाएको छ ।

जापानले पनि उक्त प्रक्षेपण पुष्टि गर्दै क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्र (EEZ) बाहिर खसेको जानकारी दिएको छ ।

यस घटनापछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालयले आकस्मिक बैठक बोलाएर उत्तर कोरियाको निरन्तर ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणप्रति चिन्ता व्यक्त गरेको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन हुने यस्ता गतिविधि रोक्न प्योङयाङलाई आग्रह गरेको छ ।

यसअघि पनि उत्तर कोरियाले सोही क्षेत्रबाट अर्को ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । त्यसबारे पनि प्योङयाङले कुनै आधिकारिक पुष्टि गरेको थिएन, तर दक्षिण कोरिया, अमेरिका र जापानले उक्त परीक्षणको पुष्टि गरेका थिए ।

उत्तर कोरियाले समुद्रतर्फ क्षेप्यास्त्र किन प्रक्षेपण गर्‍यो?

उत्तर कोरियाले यसको औपचारिक कारण सार्वजनिक गरेको छैन । तर विश्लेषकहरूका अनुसार यसको समयले यो अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासअघि चेतावनी दिने उद्देश्यले गरिएको संकेत गर्छ ।

उत्तर कोरियाले लामो समयदेखि यस्ता संयुक्त अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारी भन्दै आलोचना गर्दै आएको छ । विगतमा पनि उसले यस्ता अभ्यासअघि वा त्यसक्रममा क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

दक्षिण कोरियाको क्युन्गनाम विश्वविद्यालयका उत्तर कोरिया विज्ञ लिम एउल–चुलले एएफपीसँग कुरा गर्दै भनेका छन्, “उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई कुनै प्रतिक्रिया नदिई कहिल्यै जान दिएको छैन ।”

उनका अनुसार पछिल्लो परीक्षण आगामी सैन्य अभ्यासमाथि उत्तर कोरियाले नजिकबाट निगरानी गरिरहेको र आवश्यक ठाने थप कदम चाल्न सक्ने सन्देश हो ।

उल्ची फ्रिडम शिल्ड सैन्य अभ्यास अगस्ट १७ देखि २७ सम्म दक्षिण कोरिया तथा कोरियाली प्रायद्वीप वरपर सञ्चालन हुनेछ ।

यस अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक तथा दक्षिण कोरियामा तैनाथ करिब २८ हजार ५०० अमेरिकी सैनिक सहभागी हुनेछन् ।