शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै, प्रहरीले बासस्थानसम्म एस्कर्ट गर्ने

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै, प्रहरीले बासस्थानसम्म एस्कर्ट गर्ने


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा थाई एयरलाइन्सको उडानबाट आज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् । अध्यागमनस्रोतका अनुसार विमान १२ः४५ को समयमा अवतरण हुने पूर्वनिर्धारित तालिका छ ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित (एस्कर्ट) जाने व्यवस्था मिलाइएको छ । चर्चा भएजस्तो धरपकडको कुनै योजना नभएको उनले बताए ।

गतवर्ष भदौ २४ मा जेन–जी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि आज बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन् ।

प्रहरीका अनुसार उनलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइने छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन द्वारमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ । यो कार्यको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ ।