रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये तेस्रो बालिकाको खोजी कार्य तेस्रो दिन बिहीबार पनि जारी रहेको छ।
मंगलबार दिउँसो नदीमा नुहाउने र पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए। त्यसमध्ये बुधबार बिहान करिब साढे छ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुल नजिक दुई बालबालिकाको शव फेला परेको थियो।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार फेला परेको शव स्थानीय शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुनको रहेको थियो। उनीहरूसँगै नदीमा डुबेकी शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन भने अझै बेपत्ता रहेकी छन्।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान थालेको थियो। बेपत्ता बालिकाको खोजीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट असई भीमबहादुर पुनको कमान्डमा ९ सदस्यीय डुबान उद्धार (डीएम) टोली रबर बोटसहित घटनास्थलमा परिचालन गरिएको छ।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक भट्टराईको कमान्डमा ९ जना प्रहरी खोजीमा परिचालन गरिएको छ। बुधबार दिनभर खोजी गर्दा पनि रौशन फेला नपरेपछि बिहीबार बिहानैदेखि पुनः खोजी अभियान सुरु गरिएको एसपी अधिकारीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रौशनको खोजी नदीको विभिन्न क्षेत्रमा तीव्र बनाएको छ।
लाल बकैया नदीमा पछिल्लो समय पानीको बहाव बढेसँगै नदीजन्य जोखिमसमेत बढेको छ। घटनापछि स्थानीयवासीमा त्रास र चिन्ता बढेको छ भने सुरक्षाकर्मीले नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया