स्याङ्जा, साउन २९ गते । स्मार्ट सिटीको अवधारणामा अघि बढिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको अर्को पहिचान बनेको छ ‘गुलाबी सहर’ । नगरक्षेत्रका करिब ८० प्रतिशत घरमा गुलाबी रङ पोतिएको वालिङमा अब यही रङ विद्यालयका विद्यार्थीको पोसाकमा समेत पुगेको छ ।
नगरपालिकाले यहाँका ५९ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब तीन हजार ९२ विद्यार्थीका लागि गुलाबी पोसाक लागु गरेको हो । घरका भित्तादेखि विद्यालयका पोसाकसम्म विस्तार भएको गुलाबी अभियानलाई नगरपालिकाले स्थानीय पहिचानसँगै समानता, एकता र सहिष्णुताको भावनासँग जोडेको छ ।
गुलाबी रङ सामान्यतः प्रेम, करुणा, सद्भाव, आत्मीयता र सकारात्मक भावनासँग जोडिन्छ । यही भावनालाई नागरिकबिचको सम्बन्ध र नगरको साझा पहिचानसँग जोड्ने उद्देश्यले वालिङमा गुलाबी रङलाई अभियानका रूपमा अघि बढाइएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । उहाँका अनुसार गुलाबी अभियान भौतिक संरचनालाई एउटै रङमा रङ्ग्याउने अभियान मात्रै होइन । यसमार्फत नगरवासीमा साझा पहिचान र अपनत्वको भावना विकास गर्ने प्रयास भइरहेको छ ।
नगरपालिकाले प्रत्येक विद्यार्थीका लागि पोसाकबापत एक हजार रुपियाँका दरले सम्बन्धित विद्यालयको खातामा रकम उपलब्ध गराएको छ । विद्यालयको खातामा रकम पुगेपछि विद्यार्थीले गुलाबी पोसाक लगाउन थालेका हुन् ।
रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले भन्नुभयो, “सबै विद्यार्थीले एउटै रङको पोसाक लगाउँदा समानताको अनुभूति हुन्छ । नगरपालिकाले अघि सारेको अभियानलाई विद्यार्थी र शिक्षकले सकारात्मक रूपमा लिएका छन् ।” विद्यालयको पोसाकमा मात्रै होइन, गुलाबी अभियानले स्थानीय सिलाइकटाइ व्यवसायमा समेत कामको अवसर बढाएको छ । विद्यालयका विद्यार्थी तथा अटोचालकका लागि गुलाबी पोसाकको माग बढेपछि स्थानीय टेलर व्यवसायीलाई पोसाक सिलाउन भ्याइनभ्याइ भएको व्यवसायी बताउँछन् ।
वालिङमा गुलाबी रङको प्रयोग विद्यालयको पोसाकमा मात्र सीमित छैन । नगरपालिकाले घर निर्माणको नक्सा पासदेखि सार्वजनिक तथा व्यावसायिक क्षेत्रसम्म गुलाबी रङलाई अभियानका रूपमा अघि बढाएको छ । नगरपालिकाको दाबी अनुसार नगरक्षेत्रका करिब ८० प्रतिशत घरमा गुलाबी रङ प्रयोग भएको छ । वालिङका घरमा गुलाबी रङ देखिनुको पछाडि नगरपालिकाको नीतिगत व्यवस्था पनि जोडिएको छ । वालिङ नगरपालिकाका घरनक्सा शाखा प्रमुख कृष्ण शर्माका अनुसार नक्सा पास गर्ने क्रममा नै गुलाबी रङलाई अनिवार्य गरिएकाले नयाँ तथा पुराना घरमा समेत यसको प्रयोग बढेको हो ।

प्रतिक्रिया