काठमाडौं । नेपाल प्रहरीमा करिब ६ वर्ष सेवा गरेका प्रहरी जवान गोविन्द साउद वैदेशिक रोजगारीका लागि मकाउ गएका छन्। नेपाल प्रहरीमा ५ वर्ष ९ महिना १३ दिन सेवा गरेपछि साउदले जागिर छाडेर आफ्ना सपना र परिवारको भविष्यका लागि विदेश जाने निर्णय गरेका हुन्। सरकारी जागिर छाडेर विदेशिने निर्णय गर्दा आफूलाई निकै दुःख लागेको उनले बताएका छन्।
वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा साउदले सामाजिक सञ्जालमार्फत आफ्नो भावुक अनुभव सार्वजनिक गरेका छन्। ‘नेपाली सरकारी जागिर छोडेर विदेश जानु, यो निर्णय जति बाहिरबाट सजिलो देखिन्छ, त्यति नै भित्रबाट गाह्रो हुन्छ,’ उनले लेखेका छन्। देशको सेवा गर्ने कसम खाएको व्यक्ति एक दिन आफ्नै सपना र परिवारको भविष्यका लागि त्यो पहिचान त्याग्न बाध्य हुनुपरेको उल्लेख गर्दै उनले बर्दीसँग जोडिएको गर्व, अनुशासन र सम्मान छाड्दा मनभित्र केही टुटेजस्तो महसुस भएको बताएका छन्।
साउदले नेपाल प्रहरीमा ५ वर्ष ९ महिना १३ दिन सेवा गरेको उल्लेख गर्दै आफ्ना सहकर्मीप्रति पनि भावुक सन्देश दिएका छन्। ‘अबदेखि कोही पनि राष्ट्रसेवकले सुरक्षित भविष्यका लागि बर्दी छाड्नुपर्ने दिन नदोहोरियोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। नेपाल प्रहरीको जागिर छाडेर वैदेशिक रोजगारी रोजेका साउदको भावुक सन्देश अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

प्रतिक्रिया