केयूको उपकुलपतिमा प्रा.डा.विवेक बराल नियुक्त

केयूको उपकुलपतिमा प्रा.डा.विवेक बराल नियुक्त


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा।डा। विवेक बराल नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो। बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। बराल काठमाडौं विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बनेका छन्।

उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन् भने जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्। इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्स उनको विज्ञताको क्षेत्र हो। उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्। काठमाडौं विश्वविद्यालयमा उनले ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन्।

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका थिए। तीमध्ये १० जनाको नाम छनोट गरी सार्वजनिक गरिएको थियो। छनोटमा परेका उम्मेदवारसँग प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिएपछि मेरिटका आधारमा बरालको नाम उपकुलपतिका लागि सिफारिस गरिएको समितिले जनाएको छ।