काठमाडौं ।नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस र इभी भ्यान भिरबाट खस्दा पाँच जना महिला घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा प्र ०८–१ ख ००५२ नम्बरको बस र बा प्र ०३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानदुर्घटनामा परेका हुन्।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री गम्भीर घाइते भएका छन्।
यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ तथा दोलखाको मैलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीया जानु श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खाजा खानका लागि सडक छेउमा रोकिएको बस आफैं गुडेर इभी भ्यानलाई ठक्कर दिएको थियो। बसको ठक्करपछि दुवै सवारीसाधन सडकबाट करिब ३० देखि ४० मिटर तल खसेका हुन्।
घाइतेहरूको स्थानीय प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया