काठमाडौँ । अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ। डीडी किन्लेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु र उग्येन दोर्जीलगायतका कलाकारको अभिनय छ। फिल्ममा भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमको समेत निर्माण सहकार्य रहेको छ। साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म नेपाल, भुटान र भारतका कम्पनीहरूको संयुक्त निर्माण हो।
मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण गरिएको फिल्म नेपाली, जोङ्खा र भारतीय भाषामा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। निर्वाणका पिता तथा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले विसं २०३९ सालमा ‘वासुदेव’ फिल्म निर्माण गरेका थिए। त्यसको झन्डै साढे चार दशकपछि उनका छोरा निर्वाणले फिल्म निर्माणमा हात हालेका हुन्।
करिब ६ महिनाअघि छायांकन सम्पन्न भएको फिल्मको अहिले थाइल्यान्डमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ। फिल्मलाई अक्टोबरमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ। डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ निर्माता प्रदीप खड्का हुन्। फिल्ममा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ। फिल्मलाई नेपाल, भुटान र भारतका हलसँगै भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा समेत रिलिज गर्ने तयारी गरिएको छ। फिल्मको छायांकन दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङले गरेका हुन्।

प्रतिक्रिया