काठमाडौं । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रुसले बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिए पनि आफ्नो देशले युक्रेनलाई निरन्तर ‘शतप्रतिशत समर्थन’ गरिरहने बताएका छन् ।
रुसले हालै युक्रेनले रुसभित्र गरेको ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतले युक्रेन संकटलाई जानाजानी थप चर्काउने बाटो रोजेको आरोप लगाएको थियो ।
रुसस्थित बेलायती दूतावासले बेलायतको संलग्नता जति गहिरिँदै जान्छ, उसले तिर्नुपर्ने मूल्य पनि त्यति नै बढ्ने चेतावनी दिएको थियो ।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री बर्नहमले बेलायत ‘मौसमअनुसार साथ बदल्ने मित्र नभएको’ बताएका छन् । उनले भने, “युक्रेनलाई आवश्यक परेको समयमा हामी साथमा हुनेछौँ र यो परिवर्तन हुने छैन ।”
रुसको चेतावनीबारे सोधिएको प्रश्नमा बर्नहमले बेलायतले युक्रेनलाई आफ्नो रक्षा गर्न आवश्यक सहयोग उपलब्ध गराइरहेको बताए । उनका अनुसार रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेदेखि बेलायतको यही नीति रहँदै आएको छ ।
रुसले यसअघि पनि बेलायतले युक्रेनलाई ड्रोन प्रविधि तथा ‘स्टर्म स्याडो’ क्षेप्यास्त्र उपलब्ध गराएको विषयमा चेतावनी दिँदै आएको छ । पछिल्लो पटक बेलायती दूतावासले ‘लन्डनका कदमले अपरिहार्य रूपमा परिणाम निम्त्याउने र त्यसको जवाफ दिनुपर्ने’ बताए पनि कस्तो प्रकारको खतरा हुनसक्छ भन्ने स्पष्ट गरेको छैन ।
युक्रेनले पछिल्ला दिनमा मस्को तथा रुसका अन्य क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । उसले विशेषगरी तेल प्रशोधन केन्द्र तथा प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका लागि प्रयोग हुने भण्डारण तथा वितरण केन्द्रलाई निशाना बनाइरहेको छ ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता बेलायत युक्रेनका प्रमुख अन्तर्राष्ट्रिय समर्थकमध्ये एक रहँदै आएको छ । बेलायती रक्षा मन्त्रालयले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अवैध आक्रमण’विरुद्ध आफ्नो रक्षा गर्न आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
रुसले अहिले युक्रेनको करिब एक–पाँचौँ भूभाग नियन्त्रणमा राखेको छ । यद्यपि पछिल्ला केही महिनामा अग्रपंक्तिमा रुसी सेनाले उल्लेखनीय सफलता हासिल गर्न सकेको छैन । त्यसका बाबजुद अग्रपंक्तिभन्दा बाहिर पनि हताहती बढिरहेको छ ।
संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार गत महिना युक्रेनमा ४३७ जना सर्वसाधारणको मृत्यु भएको थियो, जुन सन् २०२२ मेयताकै सबैभन्दा धेरै हो । रुसको विदेश मन्त्रालयका एक प्रवक्ताले मंगलबार तास समाचार संस्थालाई पछिल्लो एक सातामा तीन बालबालिकासहित ६९ जनाको मृत्यु भएको बताएका छन् ।
पछिल्लो रुसी आक्रमणमा युक्रेनमा १७ जनाको मृत्यु भएको छ । मंगलबार बिहान उत्तरपूर्वी युक्रेनको पेचेनेही गाउँमा मात्रै १० जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा घर, क्याफे र हुलाक कार्यालयमा क्षति पुगेको छ ।
यसैगरी सुमीमा तीन, जापोरिज्जियामा दुई र खेर्सोनमा दुई युक्रेनी नागरिकको मृत्यु भएको छ ।
यता, युक्रेनले गरेको आक्रमणपछि रुसले बेलायतलाई चेतावनी दिएको हो । सप्ताहन्तमा रुसको दक्षिणी क्षेत्रमा पर्ने रोस्तोभमा आवासीय क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो ।
पछिल्ला दुई दिनमा युक्रेनी सेनाले मस्को आसपासको क्षेत्रमा मात्रै सयौँ ड्रोन प्रहार गरेको रुसले जनाएको छ । क्षेत्रीय गभर्नर एन्ड्रे भोरोब्योभका अनुसार मंगलबार १० वर्षीया एक बालिका घाइते भएकी छन् भने वाइल्डबेरीजको एउटा गोदाममा क्षति पुगेको छ ।
आयातित ड्रोनसँगै युक्रेनले पछिल्ला साताहरूमा स्वदेशमै विकसित ड्रोन तथा क्षेप्यास्त्र प्रविधि पनि प्रयोग गरिरहेको छ । यसमा एफपी–५ ‘फ्लेमिङ्गो’ क्रुज क्षेप्यास्त्रसमेत रहेको छ ।
बेलायतका दुई कम्पनीले किभलाई उपलब्ध गराइएका ड्रोन निर्माण गरेको बताइएको छ । एक सैन्य स्रोतले बीबीसीलाई हालै रुसमा भएका आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि गरेको छ । ती आक्रमणबाट ३५ अर्ब पाउन्डभन्दा बढीको आर्थिक क्षति भएको दाबी गरिएको छ ।
बेलायती रक्षा मन्त्रालयले गत अप्रिलमा युक्रेनलाई लामो दूरीमा प्रहार गर्न सक्ने ड्रोनसहित दशौँ हजार ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो । यो बेलायतले हालसम्म उपलब्ध गराएको सबैभन्दा ठूलो सैन्य सहायता प्याकेज हो ।
बर्नहमले गत महिना बेलायती नौसैनिक अखडाको भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बेलायतले ‘जति समय आवश्यक पर्छ त्यति समयसम्म साथ दिन सक्ने’ बताएका थिए । उनले बेलायतको नयाँ ‘स्टोन क्लोक’ प्रविधि पनि युक्रेनसँग साझेदारी गर्ने बताएका थिए । उक्त प्रविधिले रुसी हवाई प्रतिरक्षा प्रणालीमा विद्युतीय अवरोध सिर्जना गर्न सहयोग गर्ने बताइएको छ ।
रुसले लामो समयदेखि युद्धमा बेलायती ड्रोन प्रविधिको प्रयोगप्रति आपत्ति जनाउँदै आएको छ । सन् २०२४ मा रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बेलायती उपकरण र प्रविधि प्रयोग गरेर तयार पारिएका ड्रोनबाट रुसको भूभागमा आक्रमण भएको आरोप लगाएकी थिइन् ।
पछिल्लो रात रुसी अधिकारीका अनुसार मस्को आसपासको क्षेत्रमा करिब ६२० ड्रोन प्रहार गरिएको थियो । रुसी हवाई प्रतिरक्षा प्रणालीले तीमध्ये १८० भन्दा बढी ड्रोन खसालेको र केही मानिस घाइते भएको बताइएको छ ।
शनिबार राति पनि युक्रेनले रुसतर्फ करिब ८२२ ड्रोन प्रहार गरेको थियो, जसमध्ये ६०० मस्कोलाई लक्षित गरिएको रुसको दाबी छ । उक्त आक्रमणलाई मस्कोका क्षेत्रीय गभर्नरले पछिल्लो समयकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक भनेका थिए । रुसभर सात जनाको मृत्यु भएको थियो ।
युक्रेनका पश्चिमी सहयोगी मुलुकलाई रुसले दिने धम्कीका सन्दर्भमा पछिल्लो समय ‘हाइब्रिड युद्ध’ मुख्य चासोको विषय बनेको छ । रुसको प्रत्यक्ष संलग्नता विरलै पुष्टि हुने भए पनि युरोपका विभिन्न स्थानमा संवेदनशील सैन्य तथा औद्योगिक क्षेत्रमा ड्रोन उडाइएको घटनाहरू सार्वजनिक भएका छन् ।
गत साता जर्मन अधिकारीहरूले युक्रेनबाट आएको एउटा कार्गो विमाननजिकै विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि हाइब्रिड आक्रमणको जोखिम ‘वास्तविक र अत्यन्त गम्भीर’ रहेको चेतावनी दिएका थिए । उक्त विमानस्थल जर्मनी र उसका नेटो सहयोगीका लागि सैन्य गतिविधिको महत्वपूर्ण केन्द्रसमेत हो ।
यसैबीच, जर्मनी सरकारले ड्रोनबाट हुने खतराको सामना गर्न आफ्ना गुप्तचर निकाय बीएनडी र बीएफभीलाई शत्रुतापूर्ण गतिविधि गर्ने पक्षविरुद्ध निगरानी, ह्याकिङ तथा अवरोध सिर्जना गर्न थप व्यापक अधिकार दिने तयारी गरिरहेको छ ।

प्रतिक्रिया