रौतहट । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा एक ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक म्याजिक गाडीका चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा जीतपुर सिमरा–२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन् ।
जीतपुर सिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी गत साउन ३१ गतेदेखि हराइरहेकी थिइन् । खोजतलासका क्रममा भदौ २ गते स्थानीय वीरबहादुर रोकाको एक तले खाली घरभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको गम्भीरतालाई हेर्दै इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा र प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाई फकाएर एकान्तमा लगी जबरजस्ती करणी गरेर हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान कसूरमा मुद्दा दर्ता गरिएको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
यस अमानवीय र क्रुर घटना सार्वजनिक भएपछि जीतपुरसिमरा र आसपासका क्षेत्रका स्थानीय बासिन्दा गम्भीर आक्रोश सडकमा उत्रिएका छन् । स्थानीयवासीले दोषीलाई हदैसम्मको कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन् ।
यो घटनालाई लिएर प्रतिनिधिसभा बैठकमा समेत जनप्रतिनिधिले आवाज उठाएका छन् । बाराका प्रतिनिधिसभा सदस्य रहवर अन्सारीले संसदमा बोल्दै यस विषयमा सभामुख मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सांसद अन्सारीले बालिकाको हत्या प्रहरीको नालायकीपन र लापरबाहीका कारण भएको आरोप लगाउँदै शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया