काठमाडौं । युक्रेनका लोकप्रिय पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले युद्ध जारी रहेकै अवस्थामा राष्ट्रपतीय निर्वाचन गर्न माग गरेका छन् । उनको यो मागलाई रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयताकै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ ।
३५ वर्षीय फेदोरोभले मंगलबार युट्युबमा सार्वजनिक गरेको भिडिओमा भनेका छन्, ‘लोकतन्त्रलाई रुसको बन्धक बनाउन सकिँदैन ।’ युक्रेनले आफू स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहनकै लागि युद्ध लडिरहेको उनको भनाइ छ ।
रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता देशमा सैनिक शासन लागू छ । सैनिक शासन लागू रहेकाले युक्रेनमा निर्वाचन हुन सकेको छैन ।
फेदोरोभले भिडिओमा जेलेन्स्कीको नाम भने उल्लेख गरेका छैनन् । उनलाई गत महिना रक्षामन्त्री पदबाट अप्रत्याशित रूपमा हटाइएको थियो । रक्षामन्त्री बनेको ६ महिना पनि नपुग्दै उनलाई पदबाट हटाइएको हो । उनको बर्खास्तीपछि देशका विभिन्न ठाउँमा प्रदर्शनसमेत भएका थिए ।
फेदोरोभको पछिल्लो भनाइप्रति जेलेन्स्कीले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यद्यपि, राष्ट्रपतिको कार्यालयका एक स्रोतले बीबीसीसँग कुरा गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण भइरहेका बेला निर्वाचनको योजना बनाउनु ‘अत्यन्तै अस्वाभाविक’ भएको टिप्पणी गरेका छन् ।
ती स्रोतले यस्तो कदमले वास्तविक परिस्थितिप्रतिको पूर्ण बेवास्ता देखाउने दाबी गरेका छन् ।
फेदोरोभले आफ्नो भिडिओमा आफूलाई अन्याय भएको अनुभूति भइरहेको संकेत गर्दै राज्यमा पदाधिकारी नियुक्तिको मुख्य आधार व्यावसायिक क्षमता, उपलब्धि वा देश रूपान्तरण गर्ने क्षमता नभई सत्ताप्रतिको व्यक्तिगत वफादारी बन्नु खतरनाक भएको बताएका छन् ।
उनले युक्रेनमा लामो समयदेखि जारी युद्धका बीच पनि पूर्ण लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानुनी, सुरक्षित र व्यावहारिक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
फेदोरोभले आफू निर्वाचनमा उम्मेदवार बन्ने संकेत भने गरेका छैनन् । जेलेन्स्कीविरुद्ध चुनाव लड्ने आफ्नो मनसाय पनि उनले स्पष्ट रूपमा व्यक्त गरेका छैनन् । तर उनले ‘व्यक्तिभन्दा बलिया संस्था भएको राज्य’ निर्माण गर्नुपर्ने बताएका छन् ।
यसलाई जेलेन्स्कीको व्यक्तिगत राजनीतिक प्रभावतर्फ संकेतका रूपमा समेत हेरिएको छ । फेदोरोभको पछिल्लो अभिव्यक्तिपछि भने युक्रेनी राजनीतिमा उनको नाम सम्भावित राजनीतिक चुनौतीका रूपमा चर्चामा आएको छ ।
युद्धका बेला निर्वाचन गर्ने विषयमा मतभेद
फेदोरोभको निर्वाचनसम्बन्धी मागले युक्रेनभित्रै मतभेद उत्पन्न गराएको छ । उनलाई रक्षामन्त्रीमा पुनर्बहाली गर्न माग गर्दै प्रदर्शन गरेका कतिपय समर्थकसमेत अहिले युद्धका बीच निर्वाचन गर्ने विचारको पक्षमा छैनन् ।
फेदोरोभको पुनर्बहालीको माग गर्दै संसद् भवनबाहिर प्रदर्शनमा सहभागी २४ वर्षीय इभानले बीबीसीसँग युद्ध चलिरहेका बेला निर्वाचन गर्नु उचित नहुने बताएका छन् ।
जेलेन्स्कीका समर्थक सांसद ओलेक्सान्द्र मेरेझ्कोले पनि फेदोरोभलाई पुनः रक्षामन्त्री बनाउन आफूले समर्थन गरेको भए पनि अहिले निर्वाचन गर्ने उनको प्रस्तावलाई ‘अत्यन्तै खतरनाक र अव्यावहारिक’ बताएका छन् ।
उनका अनुसार युद्धका बीच निर्वाचन गराउँदा देशको एकता र प्रतिरोध क्षमता कमजोर हुन सक्छ र त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्न सक्छ ।
किभमा फेदोरोभको समर्थनमा प्रदर्शन गर्ने अर्की युवती मायाले पनि अहिले निर्वाचन उचित नहुने बताएकी छन् । उनका अनुसार युद्ध समाप्त नभएसम्म जेलेन्स्की नै युक्रेनका लागि सबैभन्दा सुरक्षित विकल्प हुन् । तर युद्धपछि नयाँ राष्ट्रपति आउनुपर्ने उनको धारणा छ ।
तर विपक्षी सांसद भोलोदिमिर अर्येभले भने निर्वाचनको पक्षमा आवाज उठाएका छन् । उनले जेलेन्स्की वास्तविकताबाट टाढिँदै गएको आरोप लगाउँदै युक्रेन यस्तो अवस्थामा पुगेको बताएका छन्, जहाँ निर्वाचन र अराजकतामध्ये एउटा रोज्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया