मोनाकोसँग पोग्बाको सम्झौता रद्द, एक सिजनमै क्लब छाडे

मोनाकोसँग पोग्बाको सम्झौता रद्द, एक सिजनमै क्लब छाडे


काठमाडौं । फ्रान्सका पूर्वमिडफिल्डर पल पोग्बा मोनाकोबाट बाहिरिएका छन् । क्लबले सम्झौता समयअगावै रद्द गरेपछि पोग्बाको मोनाको यात्रा एक सिजनमै टुंगिएको हो ।

सन् २०१८ को विश्वकप विजेता पोग्बासँग मोनाकोको सम्झौता जुन २०२७ सम्म थियो । तर क्लबले दुवै पक्षले तय गरेका लक्ष्य अपेक्षाअनुसार पूर्ण रूपमा हासिल हुन नसकेको भन्दै सम्झौता समयअगावै अन्त्य गरेको जनाएको छ ।

३३ वर्षीय पोग्बाले गत सिजन मोनाकोका लागि ६ खेल मात्र खेले, जसमध्ये पाँच खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए ।

पोग्बाले भने, ‘यो क्लब र मोनाकोको प्रतिनिधित्व गर्नु मेरा लागि अविस्मरणीय अनुभव रह्यो । मोनाको उत्कृष्ट क्लब हो । मैले चाहेजति खेल्न नपाए पनि यसको जर्सी लगाउने अवसर पाएकोमा सधैँ आभारी रहनेछु ।’

पोग्बा गत वर्ष मोनाकोमा आबद्ध भएका थिए । त्यसअघि प्रतिबन्धका कारण उनले लामो समय व्यावसायिक फुटबल खेल्न पाएका थिएनन् ।

इटालियन क्लब युभेन्ट्समा रहँदा डोपिङ परीक्षणमा असफल भएपछि पोग्बामाथि चार वर्षको प्रतिबन्ध लगाइएको थियो । उनले आफूबाट गल्ती भएको बताउँदै आएका थिए । पछि खेलकुदसम्बन्धी मध्यस्थता अदालत (सीएएस) ले उनको प्रतिबन्ध चार वर्षबाट घटाएर १८ महिनामा झारेपछि उनी मार्च २०२५ मा व्यावसायिक फुटबलमा फर्किन पाएका थिए ।

बीबीसी स्पोर्टका अनुसार पोग्बालाई अहिले मेजर लिग सकर (एमएलएस) का क्लबहरूले चासो देखाइरहेका छन् । यसअघि उनलाई डीसी युनाइटेड र इन्टर मियामीसँग जोडिएको थियो ।

तर गत साता इंग्ल्यान्डमा भएको मोनाकोको प्रि-सिजन प्रशिक्षणका क्रममा पोग्बाको ह्यामस्ट्रिङमा चोट लागेको छ । यसले उनको अर्को क्लबमा जाने प्रक्रिया केही ढिलो हुन सक्ने बताइएको छ ।

मोनाकोका प्रमुख कार्यकारी अधिकृत थियागो स्कुरोले पोग्बालाई क्लबमा भित्र्याउँदा यो ‘महत्त्वाकांक्षी र साहसिक चुनौती’ भएको बताएका छन् ।

उनले भने, ‘हामीले अपेक्षा गरेजस्तो परिणाम आएन । तर यसले पोग्बाको क्लब फुटबलमा पुनरागमनका क्रममा देखिएको उत्साहलाई ओझेलमा पार्नु हुँदैन । यो अवधिमा पल मैदान र व्यावसायिक फुटबलमा फर्किन सके, त्यो आफैँमा महत्त्वपूर्ण कुरा हो ।’

स्कुरोले पोग्बाको आगामी यात्राका लागि शुभकामना दिएका छन् ।