काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसके पनि छैटौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपाली राजनीतिमा जिम्मेवारी र राजकीय पदप्रतिको मोह बढ्दै गएको प्रसंगमा देउवाको उदाहरण प्रस्तुत गरेका हुन् ।
उनले भने, ‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौं पटक भएन भनेर असन्तुष्ट हुन्छ ।’
थापाले देउवा तेस्रो पटक कांग्रेस सभापति बन्न नपाएको विषयमा समेत असन्तुष्टि रहेको दाबी गरे । कांग्रेसको विधानअनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति बन्न पाउँदैन ।
‘दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ,’ थापाले भने, ‘हामी हेर्यौँ भने मञ्चमा बसेका मान्छे, जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ ।’
देउवा कांग्रेसको सभापतिका रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् भने पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका छन् ।
थापाले पछिल्लो राजनीतिक संस्कारप्रति टिप्पणी गर्दै राजनीति जनसेवाभन्दा राजकीय पद र जिम्मेवारी केन्द्रित हुँदै गएको बताए । त्यही सन्दर्भमा उनले पद प्राप्त गरिसकेका नेतासमेत थप पदको अपेक्षामा असन्तुष्ट हुने गरेको टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया