काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयमै अघि बढाउने पार्टी संस्थापनको तयारीबीच इतर पक्षले त्यसलाई रोक्न कानुनी बाटो रोज्ने भएको छ। पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका छन्।
महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याउने तयारी भइरहँदा कांग्रेसको आन्तरिक विवाद थप कानुनी मोर्चामा पुगेको छ। नेता मीन विश्वकर्माका अनुसार दुवै नेताका तर्फबाट अलग–अलग रिट दर्ता गरिनेछ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, पार्टीको आधिकारितासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन इतर पक्षले माग गर्ने तयारी गरेको हो।
यसअघि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेको छ। यही विषयलाई आधार बनाएर इतर पक्षले महाधिवेशनको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश माग गर्ने तयारी गरेको छ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्रको विवाद पार्टीको आन्तरिक बैठक र राजनीतिक छलफलबाट अदालतसम्म पुगेको छ। अब सर्वोच्चको निर्णयले कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै अघि बढ्ने वा नयाँ कानुनी मोडमा जाने भन्नेमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

प्रतिक्रिया