रास्वपा केन्द्रीय कार्यसमिति बैठक सुरु, बैठक छलेर वरिष्ठ नेता प्रधानमन्त्री काठमाडौं बाहिर

रास्वपा केन्द्रीय कार्यसमिति बैठक सुरु, बैठक छलेर वरिष्ठ नेता प्रधानमन्त्री काठमाडौं बाहिर


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । पार्टीको महाधिवेशनपछि यो दोस्रो केन्द्रीय कार्यसमिति बैठक हो । पहिलो बैठकबाट वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन मनोनीत भएका थिए । यो बैठकबाट अन्य पदाधिकारी तथा सदस्यहरू मनोनीत हुनेछन् ।

महामन्त्री विपिन आचार्यका अनुसार बैठक कार्यसूचीहरूमा चारवटा विषय छन् ।

बैठकको कार्यसूचीहरू

क दस्तावेज सम्बन्धमा

१ स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा।
२ राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा।

ख साङ्गठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी

१ केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा।
२ पदाधिकारी मनोनयन सम्बन्धमा।
३ सचिवालय सदस्य मनोनयन सम्बन्धमा।
४ विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा।
५ स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा।

ग योजना, कार्यक्रम तथा अभियानसम्बन्धी

१ केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा।
२ पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा।

घ विविध

सरकार र पार्टीबीच समन्वय नभएको भन्दै सत्तारुढ दल रास्वपाभित्र सरकारको व्यापक आलोचना भइरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक भइरहेको छ । यसअघि सभापति रवि लामिछानेले आफैँले संसदीय दलको बैठक बोलाएर सांसदहरूसँग छलफलसमेत गरेका थिए । जहाँ सरकारको व्यापक आलोचना भएको थियो ।

यस्तो महत्त्वपूर्ण बैठक छलेर पार्टीका वरिष्ठ नेता, संसदीय दलका नेता प्रधानमन्त्री बालेन भने काठमाडौं बाहिर भ्रमणमा निस्किएका छन् । उनी पोखरा हुँदै मुस्ताङसम्मको यात्रामा निस्किएका छन् ।