सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन् ।

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गरे । उनले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गरे ।

त्यसपछि सांसद तामाङ र मेयर महर्जनबीच भनाभन भएको थियो । विवाद चर्किएपछि सञ्चारमन्त्री तिमिल्सिनाले मध्यस्थता गर्दै माहोल शान्त पार्ने प्रयास गरेका थिए । तर, स्थिति सामान्य नभएपछि सांसद तामाङ नै बैठकबाट रिसाएर बाहिरिएकी हुन् ।