नेकपाका असन्तुष्ट सांसदले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने

नेकपाका असन्तुष्ट सांसदले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने


काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि बागमती प्रदेशसभाका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने भएका छन् ।

असन्तुष्ट सांसदहरूले प्रचण्डसँगको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गरिएको सहकार्यको राजनीतिक तथा वैचारिक आधारबारे प्रश्न उठाएका थिए । उनीहरूले राप्रपासँगको सहकार्य उचित वा अनुचित के हो भन्ने विषयमा प्रचण्डसँग स्पष्टता मागेका थिए ।

छलफलका क्रममा बागमती प्रदेशसभासँग सम्बन्धित थप विषय नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा छलफल गर्ने सहमति भएको सहभागी एक सांसदले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाका दलका नेता, उपनेता तथा अन्य नेताहरूबीच छलफल गरी बैठकबाट आउने निर्णयलाई कार्यान्वयन गर्दै अघि बढ्ने समझदारी भएको छ ।

यस्तै, प्रदेश सरकारमा कुन व्यक्तिलाई कुन जिम्मेवारी दिने भन्ने विषय पार्टीका संयोजक, सहसंयोजक र हेडक्वार्टरलाई जिम्मा दिने सहमति भएको छ ।

हालको मन्त्रिपरिषद्मा नेकपाले तीनवटा मन्त्रालय लिने र सभामुखको जिम्मेवारीसमेत नेकपाले लिने विषयमा पनि छलफल भएको ती सांसदले बताए ।

प्रचण्डसँगको छलफलपछि मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत दिने निर्णयमा पुगेको असन्तुष्ट पक्षका सांसदहरूले बताएका छन् ।

असन्तुष्ट सांसदहरूमा गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद शर्मा खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, रुकु चौलागाईं, युवराज चौलागाईं, ओमकुमारी श्रेष्ठ र उर्मिला लामा रहेका छन्।