बलियो जनादेश पाएर मात्रै हुँदैन, सफल बनाउनुपर्छ : गगन थापा

बलियो जनादेश पाएर मात्रै हुँदैन, सफल बनाउनुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेन–जी’ आन्दोलनअघि नै देशमा विशेषगरी युवापुस्तामा बढ्दो असन्तुष्टि आफूहरूले महसुस गरिसकेको बताएका छन् ।

एनडीटीभीले आयोजना गरेको ‘NDTV Anviksha: Ideas Across Borders’ को पहिलो संस्करणमा नेपाल–भारत सम्बन्धसँगै नेपालको राजनीति, अर्थतन्त्र, समाज र भविष्यबारे भएको छलफलमा बोल्दै थापाले आफूहरू देशका विभिन्न क्षेत्रमा पुग्दा युवाहरूमा अवसरको अभाव र खराब शासनप्रति तीव्र आक्रोश देखिएको बताए । उनले त्यसको मुख्य कारण खराब राजनीति र गलत राजनीतिक छनोट भएको बताए ।

‘सेप्टेम्बर ८ भन्दा अघि नै हामीले पार्टीभित्र यो विषय धेरैपटक उठाएका थियौँ,’ थापाले भने, ‘हामीले वरिष्ठ नेताहरूलाई जनतामा बढ्दो निराशाबारे निरन्तर सचेत गराइरहेका थियौँ । विशेषगरी युवाहरू निकै आक्रोशित थिए ।’

युवाहरूको आक्रोशको कारण देशमा पर्याप्त अवसर नहुनु रहेको उनको भनाइ थियो । ‘अवसर किन छैन? खराब शासनका कारण । र खराब शासन भनेको गलत राजनीति र गलत राजनीतिक छनोट हो,’ उनले भने ।

थापाले सेप्टेम्बर ८ को घटनापछि पनि आन्दोलनलाई कसरी बुझ्ने भन्ने विषयमा पार्टीभित्र बहस भएको बताए । आन्दोलनका केही विधि र शैलीसँग असहमति हुन सक्ने भए पनि त्यसले दिएको राजनीतिक सन्देश भने स्पष्ट रहेको उनको भनाइ थियो ।

‘हामी पुरानै शैलीको राजनीति र पुरानै शैलीको शासन जारी राख्न चाहँदैनौँ भन्ने सन्देश स्पष्ट थियो,’ थापाले भने ।

उनले आफ्नो राजनीतिक यात्रामा पनि जनताको आवाज सुनेर पार्टी नेतृत्वविरुद्ध उभिएको प्रसंग स्मरण गरे । पार्टी सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध संसदीय दलको नेताका रूपमा प्रतिस्पर्धा गर्दा आफू हार्ने निश्चितजस्तै थाहा हुँदाहुँदै पनि उम्मेदवारी दिएको उनले बताए ।

‘मलाई थाहा थियो, म हार्दैछु । तर जनताको आवाज सुनिरहेका कारण उहाँविरुद्ध उभिने निर्णय गरेँ,’ थापाले भने, ‘हाम्रा वरिष्ठ नेताहरूप्रति हाम्रो ठूलो सम्मान छ । तर हरेक कुराको आफ्नै समय र सीमा हुन्छ ।’

‘बलियो जनादेश पाउनु र त्यसलाई सफल बनाउनु फरक कुरा हो’

जेन–जी आन्दोलनपछि बनेको प्रधानमन्त्री बालेन्द्र नेतृत्वको सरकारको मूल्यांकन गर्न अहिले नै उपयुक्त समय नभएको थापाले बताएका छन् । यद्यपि, उनले बलियो जनादेश पाएका विगतका सरकारहरूको अनुभवबाट वर्तमान सरकारले सिक्नुपर्ने सुझाव दिए ।

थापाका अनुसार इतिहासले एउटा कुरा स्पष्ट देखाएको छ– निर्वाचनबाट बलियो जनादेश प्राप्त गर्नु एउटा कुरा हो भने त्यसलाई सफलतामा बदल्नु अर्कै कुरा हो ।

उनले बलियो जनादेश पाएका नेतृत्वहरू असफल हुनुका कारणमध्ये आफ्नै पार्टीभित्रको संघर्ष, संस्थाहरूलाई कमजोर ठान्ने प्रवृत्ति र सार्वजनिक जवाफदेहितालाई कम आँक्ने प्रवृत्तिलाई औँल्याए ।

‘आफ्नै पार्टीभित्रको झगडामै अल्झिन थाल्नु, आफूलाई सबैभन्दा शक्तिशाली ठान्नु, संस्थाहरूलाई कमजोर पार्न थाल्नु र सार्वजनिक जवाफदेहिताको मूल्य घटाउनु—यी इतिहासका पाठ हुन्,’ थापाले भने ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र नेतृत्वको सरकारलाई पनि विगतका असफलताबाट पाठ सिक्न आग्रह गरे ।

‘म चाहन्छु र सुझाव दिन्छु कि रास्वपाले पनि इतिहासका असफलताबाट सिकून्,’ थापाले भने, ‘साथीका रूपमा मेरो सुझाव हो—उनीहरूले हाम्रो कुरा नसुने पनि आफ्ना समर्थकहरूको कुरा सुनिरहून् ।’

विशेषगरी छ महिनाअघि आफूहरूलाई मतदान गरेका र अहिले सरकारको आलोचना गरिरहेका युवाहरूको आवाज सुन्नुपर्ने थापाको सुझाव छ ।

उनले तत्कालै सबै समस्या समाधान गर्ने ‘ठूला र छिटो समाधान’को वाचा मात्रले देशका समस्या समाधान नहुने पनि बताए । नेपालका समस्या संरचनागत र सांस्कृतिक दुवै प्रकृतिका रहेकाले समग्र सन्दर्भमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

‘राजनीतिसँग सबै समस्या समाधान गर्ने क्षमता छ भन्ने होइन । कहिलेकाहीँ हामी ठूला र छिटो समाधान खोज्छौँ, तर त्यसले समस्या समाधान गर्दैन,’ थापाले भने, ‘हामीले संरचनागत र सांस्कृतिक समस्यालाई पनि समग्र रूपमा हेर्नुपर्छ ।’

उनका अनुसार अहिले आफूहरू युवासँग पुनः जोडिने, उनीहरूको असन्तुष्टि बुझ्ने र विगतमा भएका गल्ती नदोहोर्‍याउने प्रयासमा छन् ।