हिमालय बदलिँदैछ, नेपाल–भारत–चीनले सीमापार विपद् सूचना तत्काल बाँड्नुपर्छ : रवि लामिछाने

हिमालय बदलिँदैछ, नेपाल–भारत–चीनले सीमापार विपद् सूचना तत्काल बाँड्नुपर्छ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो जोखिम सामना गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

एनडीटीभीले आयोजना गरेको ‘NDTV Anviksha: Ideas Across Borders’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले नेपाल, भारत र चीन एउटै हिमाली प्रणालीको हिस्सा भएकाले जलवायुजन्य विपद् रोकथामका लागि तीनै देशले मिलेर काम गर्नुपर्ने बताएका हुन्।

रसुवा र नुवाकोटमा बुधबार आएको आकस्मिक बाढीबाट ठूलो क्षति भएको उल्लेख गर्दै लामिछानेले विपद्को असर सीमामा नरोकिने बताए।

‘नेपालमा बुधबार बिहान ज्यान लिएको पानीले कुन भूभाग पार गरिरहेको हो भनेर सोधेन,’ लामिछानेले भने, ‘नेपाल, भारत र चीन तीन देश भए पनि हामी एउटै पर्वतीय प्रणाली हौँ। हाम्रा नदीहरू एउटा सीमाभन्दा माथि जन्मिन्छन् र अर्को सीमाभन्दा तल पुगेर समाप्त हुन्छन्।’

उनले हिमालयमा भइरहेको तीव्र परिवर्तनले आगामी दिनमा विपद्को जोखिम थप बढाउन सक्ने बताए। हिमनदी पग्लिँदै गएको, हिउँ रहेको ठाउँमा तालहरू बन्न थालेको र जलवायु परिवर्तनको गति संस्थागत तयारीभन्दा तीव्र रहेको उनको भनाइ थियो।

लामिछानेले नेपाल, भारत र चीनबीच प्रारम्भिक चेतावनी प्रणाली निर्माण, विपद्सम्बन्धी सूचना तथा जोखिमको तथ्यांक तत्काल सीमापार आदानप्रदान र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त पहल गर्न प्रस्ताव गरे।

‘हिमनदी पग्लिन वा हिउँ खस्न रोक्न नसकिएला, तर त्यसबाट हुने विपद्मा हरेकपटक अचम्मित हुन छाड्न सक्छौँ,’ उनले भने, ‘उपत्यकाका परिवारलाई उनीहरू बाँच्ने वा नबाँच्ने निर्णय गर्न सक्ने २० मिनेट दिन सक्छौँ।’

मोदीलाई धन्यवाद

लामिछानेले रसुवा र नुवाकोटमा भएको विपद्प्रति भारतले देखाएको सहयोग र ऐक्यबद्धताप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

उनले मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको र भारतबाट राहत सामग्रीसमेत नेपाल आइपुगेको बताए।

विपद्का बेला नेपाललाई सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति पनि लामिछानेले आभार व्यक्त गरे।

कार्यक्रममा लामिछानेले बुधबारको बाढीका कारण आफूले पूर्वनिर्धारित विषयमा छलफल गर्न नसकेको बताए। ‘आकांक्षी नेपाल र उदाउँदो भारत : सँगै भविष्य निर्माण’ विषयमा आफ्ना धारणा राख्ने अवसर आगामी दिनमा पाउने आशा व्यक्त गर्दै उनले एनडीटीभीको टोलीलाई नेपाल आएकोमा धन्यवाद दिए।