विपद्‌मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

विपद्‌मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने


काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो ।

सरकारले विपद्का बेला आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिको योगदानको कदर गर्दै भत्ता तथा खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको जनाएको छ ।

विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान तथा प्रोत्साहनको अनुभूति गराउनु आवश्यक भएकाले सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यकारी समितिको निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायले आफ्ना तालुकदार मन्त्रालयमा सेवा–सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव पठाउनुपर्नेछ । त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन् ।