काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।
विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्।
सडक सञ्जाल अवरुद्ध भएका कारण सुरक्षाकर्मीले हवाई तथा पैदल मार्गबाट उद्धार कार्य अघि बढाइरहेका छन्। स्थलगत पहुँच कठिन भएका स्थानमा हवाई मार्गबाट उद्धारलाई प्राथमिकता दिइएको छ।
नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले ६९ पटक उडान भरेर जोखिमपूर्ण अवस्थामा फसेका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्याएका छन्।
प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार कार्य जारी राखेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई थप तीव्र बनाएका छन्।

प्रतिक्रिया