नेपालमा ‘टनेल रेस्क्यु’ टोली पठाउँदै भारत

नेपालमा ‘टनेल रेस्क्यु’ टोली पठाउँदै भारत


काठमाडौं । नेपालमा विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान जारी रहँदा भारतले विशेष ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी गरेको छ । नेपालको अनुरोधपछि उद्धार टोली पठाउन लागिएको भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित पत्रकार सम्मेलनमा नेपालमा उद्धारका लागि विशेष टोली पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार टोली पठाउनुअघि आवश्यक उपकरण र सामग्रीको अवस्था बुझ्न रेक्की टोली नेपाल आउनेछ ।

भारतले उद्धारसँगै स्वास्थ्यकर्मीको टोलीसमेत नेपाल पठाउने तयारी गरेको छ । बाढीका कारण विभिन्न क्षेत्रमा उद्धार तथा उपचारको आवश्यकता बढिरहेका बेला भारतले मानवीय सहयोगलाई थप विस्तार गर्न लागेको हो ।

यसैबीच, भारतले बेलीब्रिजसमेत उपलब्ध गराउन सकिने जनाएको छ । नेपालले शुक्रबार भारत र चीनलाई प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन ४२ वटा बेलीब्रिज उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

भारतले नेपालमा नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का उद्धारकर्तासमेत पठाउने प्रस्ताव गरेको छ । उक्त प्रस्तावबारे नेपाल सरकारको जवाफ पर्खिरहेको जैसवालले बताएका छन् ।

भारतले नेपालका बाढीपीडितका लागि राहत सामग्री पठाउने क्रम पनि जारी राखेको छ । जैसवालका अनुसार शुक्रबार साँझसम्ममा करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी गरिएको छ ।

यसअघि भारतले दुईवटा सैन्य विमानमार्फत नेपालमा राहत सामग्री पठाइसकेको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार दुई विमानबाट हालसम्म ४७.५ टन राहत सामग्री नेपाल पठाइएको छ ।

भारतले पठाइरहेको राहत सामग्रीमा औषधि, खाद्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री रहेका छन् ।