भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ


रसुवा। भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटबाट धेरै माथि रहेका धुञ्चेवासीसमेत माथिल्तिर अवस्थित अस्पताल क्षेत्र तथा खेलमैदानमा एकीकृत भई बसेका थिए । अहिले पानीको बहाव घट्न थालेसँगै स्थानीयवासी आआफ्नो घरतर्फ लागेका छन् ।

बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरेको र नुवाकोट प्रशासनले सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारीप्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।

यसैबीच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढीप्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको र पुनः बाढीपछिको क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।