काठमाडौं । श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरातीले गरेको एकता चार महिनामै संकटमा परेको छ । आजबाट सुरू भएको श्रम संस्कृतिको केन्द्रीय समिति बैठकमा किराती समूहलाई नबोलाइएपछि आन्तरिक खटपट सतहमा आएको हो ।
श्रम संस्कृति पार्टीबाट कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा स्वयं हर्क साम्पाङले किराँतीको प्रचार गरेका थिए । तर, साम्पाङको कार्यशैलीका कारण भावनात्मक एकता हुन सकिरहेको थिएन । साम्पाङले चार महिनासम्म बैठक नबोलाएर फेसबुक स्टाटसका भरमा पार्टी चलाइरहेका थिए ।
आज केन्द्रीय समिति बैठक डाकेका साम्पाङले पार्टीका वरिष्ठ नेता किरातीलाई खबरसम्म गरेनन् । साम्पाङ र किरातीबीच पछिल्लो समय सामान्य कुराकानी समेत हुन छोडेको छ । आज पार्टीको बैठकमा नडाकिएपछि पार्टी एकतामा दरार उत्पन्न भएको सुदन समूहका एक नेताले बताए ।
ती नेताका अनुसार यसलाई सुदनले निकै गम्भीर रूपमा लिएका छन् । भावी रणनीति तय गर्ने उनले अहिले ११ बजे आफ्नो समूहको बैठक बोलाएको बुझिएको छ ।
‘अध्यक्षज्यूले नै पार्टी विभाजनतर्फ लानुभयो भन्ने आम कार्यकर्तामा चिन्ता प्रकट भयो । गत चुनावपछि श्रम संस्कृतिमा देखिएको जनसमर्थन नेतृत्वमा देखिएको यस किसिमको व्यवहारले भााँडिने जोखिम बढ्यो । त्यही पनि हाम्रोतर्फबाट पार्टी एकता बचाउने सक्दो प्रयास हुनेछ’, ती नेताले भने ।
त्यसो त श्रम संस्कृतिका केही नेताहरूले आजको वैठकले पार्टी एकतालाई अनुमोदन गर्ने र भोलि ४१ सदस्यीय पूर्ण केन्द्रीय समितिको बैठक बस्ने पनि बताएका छन् । तर, यस विषयमा साम्पाङले आफूसँग कुनै सल्लाह नगरेकाले किराती आश्वस्त नरहेको बुझिएको छ ।

प्रतिक्रिया