अमेरिकी कम्पनीले चिनियाँ र रुसी नियन्त्रणमा रहेका भेनेजुएलाका तेल क्षेत्र सम्हाल्ने

अमेरिकी कम्पनीले चिनियाँ र रुसी नियन्त्रणमा रहेका भेनेजुएलाका तेल क्षेत्र सम्हाल्ने


काठमाडौं । अमेरिकी तेल कम्पनी नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स (NABEP) ले यसअघि विभिन्न चिनियाँ कम्पनी र एउटा रुसी कम्पनीको नियन्त्रणमा रहेका केही तेलक्षेत्रको सञ्चालन जिम्मा लिने भएको छ ।

अमेरिकी दुई अधिकारीले सोमबार रोयटर्सलाई दिएको जानकारीअनुसार यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापक तेल उत्पादन सम्झौताको हिस्सा हुनेछ ।

अधिकारीहरूका अनुसार NABEP लाई हालै प्रदान गरिएका १४ वटा नयाँ ठेक्कामध्ये ती परियोजनाहरू पनि समावेश छन् । NABEP यसअघि अमेरिकी तेल व्यवसायी ह्यारी सार्जेन्टको स्वामित्वमा थियो भने अहिले भेनेजुएलाका व्यवसायी अलेजान्ड्रो बेटानकोर्टको नियन्त्रणमा छ ।

बेटानकोर्टले एक विज्ञप्तिमार्फत सम्झौताको पुष्टि गर्दै भने, “भेनेजुएला प्राकृतिक स्रोत, मेहनती जनता र उपयोग हुन बाँकी रहेको ठूलो सम्भावनाले सम्पन्न छ । यो कारोबारले त्यो सम्भावनालाई उजागर गर्दै भेनेजुएला र अमेरिकी दुवै जनतालाई ठूलो फाइदा पुर्‍याउनेछ ।”

NABEP का अनुसार कम्पनीसँग व्यवसायको सञ्चालन नियन्त्रण रहनेछ भने अमेरिकी सरकारले कम्पनीको ३५ प्रतिशत हिस्सेदारी राख्ने अधिकार पाउनेछ । साथै, कम्पनीको कुल उत्पादनमध्ये २० प्रतिशत तेल लागत मूल्यमा प्राथमिकताका आधारमा प्राप्त गर्ने अधिकार पनि अमेरिकालाई हुनेछ ।

ह्वाइट हाउसका अनुसार NABEP ले अमेरिकी विदेश मन्त्रालयलाई बाँकी ८० प्रतिशत उत्पादन खरिद गर्न पहिलो प्राथमिकताको अधिकार (राइट अफ फर्स्ट रिफ्युजल) समेत दिएको छ ।

गत साता ट्रम्पले निजी क्षेत्रसँगको साझेदारीमार्फत अमेरिकाले भेनेजुएलाको करिब ६४ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा पहुँच सुनिश्चित गरेको घोषणा गरेका थिए ।

यो व्यवस्थाले भेनेजुएलाका रणनीतिक रूपमा महत्वपूर्ण तेल सम्पत्तिमा अमेरिकी कम्पनीलाई प्रवेश गराउनेछ भने लामो समयदेखि भेनेजुएलाको ऊर्जा क्षेत्रमा प्रभाव राख्दै आएका चिनियाँ र रुसी कम्पनीको प्रभाव घटाउनेछ । साथै, भेनेजुएलाको तेल कसले उत्पादन गर्ने र कसरी बिक्री गर्ने भन्ने विषयमा वासिङ्टनलाई प्रत्यक्ष भूमिका दिनेछ ।

ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योगलाई पुनर्संरचना गर्दै विशाल तेल भण्डारलाई अमेरिकी आर्थिक तथा भूराजनीतिक हितसँग नजिक ल्याउने प्रयास गरिरहेको छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकी पक्षसँग NABEP को सञ्चालक समिति तथा निर्देशकहरूमा भिटो अधिकार समेत हुनेछ । सञ्चालक समितिको बहुमत सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

NABEP ले भेनेजुएलामा कुल १७ वटा परियोजना नियन्त्रणमा लिने अपेक्षा गरिएको छ । ती परियोजनाको विकास गरी अन्ततः अमेरिकालाई तेल आपूर्ति गर्ने योजना छ । तीमध्ये १४ वटा परियोजना भेनेजुएला सरकारले नयाँ रूपमा प्रदान गर्ने अधिकारीहरूले बताएका छन् ।

१४ मध्ये पाँचवटा तेलक्षेत्र तत्कालीन राष्ट्रपति निकोलस मादुरोले प्रवर्द्धन गरेको मोडलअन्तर्गत चिनियाँ कम्पनीहरूले सञ्चालन गर्दै आएका थिए । त्यस्तै, एउटा तेलक्षेत्र रुसी कम्पनीले सञ्चालन गरेको थियो ।

अधिकारीहरूका अनुसार दुईवटा परियोजना चाइना कन्कर्ड रिसोर्सेसले सञ्चालन गरेका थिए । उक्त कम्पनीलाई अमेरिकाले सन् २०१९ मा इरानसँग सम्बन्धित गतिविधिका कारण प्रतिबन्ध लगाएको थियो । अर्को एउटा परियोजना सिनोपेक र अर्को चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (CNPC) ले सञ्चालन गरेका थिए ।

एक अमेरिकी अधिकारीले भने, “हामी अमेरिकी सरकार र अमेरिकी सञ्चालकहरूलाई लाभ हुने नयाँ अवसर मात्र खोलिरहेका छैनौँ, पहिले चीन पठाइँदै आएको यो तेलका लागि अमेरिकालाई बजारका रूपमा पनि खोलिरहेका छौँ ।”

अधिकारीहरूका अनुसार थप दुईवटा परियोजना अपदस्थ भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरुका निकट सहयोगी रहेका एलेक्स साबसँग सम्बन्धित कम्पनीका सहायक संस्थाले सञ्चालन गरेका थिए । साब हाल अमेरिकी हिरासतमा छन् ।

अर्को तेलक्षेत्र मादुरुकी पत्नी सिलिया फ्लोरेसका भतिजासँग सम्बन्धित रहेको अधिकारीहरूले बताएका छन् ।

ट्रम्पले सोमबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले हाल टेक्सास र लुइजियानालगायतका स्थानमा रहेका रिफाइनरीमा पठाइँदै गरेको “लाखौँ र लाखौँ ब्यारेल तेल” निकालिरहेको बताएका थिए । उनले मंगलबार तेल तथा ग्यास खुद्रा व्यवसायी र रिफाइनरी सञ्चालकहरूसँग भेट गर्ने कार्यक्रम छ ।

अमेरिकी अधिकारीहरूका अनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरू र सन् २०१५ को राष्ट्रिय सभाका प्रतिनिधिबीच संवैधानिक व्यवस्था पुनर्स्थापित गर्ने तथा देशको संक्रमणकालसँग सम्बन्धित कानुनी प्रश्न समाधान गर्ने विषयमा वार्ता भइरहेको छ ।

ट्रम्प प्रशासनले सन् २०१५ को राष्ट्रिय सभालाई भेनेजुएलाको संविधानअनुसार निर्वाचित भएर सञ्चालनमा आएको अन्तिम विधायिका मान्दै आएको छ । यद्यपि उक्त सभासँग अहिले औपचारिक शासनसत्ता छैन ।

एक अमेरिकी अधिकारीका अनुसार सन् २०१५ को राष्ट्रिय सभासँग सम्झौता हुन सके त्यसले व्यापक राजनीतिक संक्रमणका लागि संवैधानिक तथा कानुनी आधार प्रदान गर्न सक्छ । यसमा भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्ने जस्ता आर्थिक निर्णयसमेत समावेश हुनेछन् ।