काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ ।
सेनाले बुधबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका कर्मचारीसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ ।
रसुवागढी हाइड्रोपावरको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र पुगेको छ । तर ठूला चट्टानका कारण थप अगाडि बढ्न नसकेपछि बुधबार पुनः खोज तथा उद्धार कार्य जारी राखिएको सेनाले जनाएको छ ।
लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ । चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
अपर त्रिशूली–१ को हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ ।
त्रिशूली–३ ए आयोजनामा भने ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाउने काम गरेको छ । कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोग गरी सुरुङको आउटलेट भेटिएको सेनाले जनाएको छ ।
वर्षाका कारण सुरुङभित्र करिब १.५ मिटर पानी जमेको थियो । उक्त पानी पम्पमार्फत बाहिर निकाल्ने काम गरिएको छ ।
त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरेको छ । ती स्थानसम्म पुग्न एक्स्काभेटर प्रयोग गरी बाटो बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया