काठमाडौं । रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे पावर हाउसको सुरुङमा फसेकाको उद्धारका लागि खटिएको भारतीय प्राविधिक टोली सुरुङभित्र १०० मिटर अगाडिसम्म पुगेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्याफ्रुबेसी नजिक चिलिमेमा पुगेर उद्धारमा खटिएको प्राविधिक टोलीसँग भेट गरेका हुन् । उनका अनुसार भारतीय टोलीले नेपाली सेनासँग सहकार्य गर्दै विशेष उपकरण प्रयोग गरी सुरुङभित्र १०० मिटर क्षेत्रसम्म अन्वेषण गरेको छ ।
टोलीले सुरुङभित्रको अवस्था अत्यन्त कठिन रहेको जनाएको छ । दलदलजस्तो जमिन र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद नेपाली सेना र भारतीय प्राविधिक टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
राजदूत श्रीवास्तवका अनुसार सुरुङभित्र थप अगाडि बढ्न भारी उपकरणसमेत परिचालन गर्ने तयारी भइरहेको छ । कठिन परिस्थितिका बीच पनि दुवै देशका टोली उद्धार अभियानमा निरन्तर जुटिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया