चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी


काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोलीले प्रयास जारी राखेको छ ।

भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।

म्यानुअल रूपमा मात्रै उद्धार सम्भव नहुने भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारी गरिएको छ । त्यसका लागि स्याफ्रुबेँसीबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम शनिबारदेखि अघि बढाइएको छ ।

सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि करिब १०० मिटर क्षेत्रमा जमेको माटो तथा भग्नावशेष हटाउने काम भइरहेको छ ।

ठूला हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयाससमेत भइरहेको छ ।

उद्धार कार्यमा चुनौती रहे पनि प्रयास नरोकिएको जनाइएको छ । पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन तथा सुरुङभित्रको उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ ।