राज्यको हस्तक्षेप र राजनीतिले शिक्षा प्रणाली ध्वस्त बनायो : पूर्वराष्ट्रपति डा. यादव

राज्यको हस्तक्षेप र राजनीतिले शिक्षा प्रणाली ध्वस्त बनायो : पूर्वराष्ट्रपति डा. यादव


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् ।

शनिबार पी.पी. प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले पहिले समुदायले सञ्चालन गरेका शिक्षण संस्थाहरू उत्कृष्ट रहेको स्मरण गर्दै सरकारीकरण र राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बनाएको बताए ।

उनले भने, ‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो । जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए । तर, जब राज्यले जिम्मा लियो— राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो। आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन, अंग्रेजीको भए नेपालीको छैन । यो हालत छ ।’

समारोहमा उत्कृष्ट शिक्षकहरूको छनोटमा मधेशबाट एक जना पनि नपरेकोप्रति डा. यादवले चिन्ता व्यक्त गरे । विगतमा देशभरका पहाडी भेगसम्म गणित र अंग्रेजी पढाउन मधेशकै शिक्षक पुग्ने गरेको इतिहास स्मरण गर्दै उनले अहिलेको अवस्थाले आफूलाई दुःखी बनाएको बताए ।

‘पुरस्कार वितरणमा मधेशको पालो आउँदा एक जना शिक्षक पनि छनोटमा परेनन् । आयोजकलाई सोध्दा क्राइटेरिया नै पुगेन भन्नुभयो । मलाई चसक्क लाग्यो । कुनै समय देशभरिका पहाडमा गणित र अंग्रेजी पढाउने शिक्षक मधेशबाटै जान्थे, आज त्यहाँको अवस्था क्राइटेरियामा समेत नआउने कस्तो बन्यो?,’ उनले भने ।

आफ्नो डाक्टरी अध्ययनको समय स्मरण गर्दै डा. यादवले कलकत्तामा ७० को दशकको नक्सलाइट आन्दोलन र अशान्तिका बीच प्राध्यापक डा. हरिदास बनर्जीले देखाएको कर्तव्यनिष्ठाको प्रसंग सुनाए । जादवपुर विश्वविद्यालयका उपकूलपतिको हत्यापछि पूरै शहर स्तब्ध हुँदा पनि डा. बनर्जी विद्यार्थी पढाउन एनाटोमी हलमा पुगेको घटना उनले स्मरण गरे ।

‘त्यतिबेला हड्ताल र हिंसाका बीच पनि कलेज आएका प्राध्यापक बनर्जीले भन्नुभएको थियो— ‘काटमार गर्नेको काम राजनीति र काटमार नै होला, तर मेरो काम भोलि मानिस बचाउने असल डाक्टर बनाउनु हो।’ शिक्षकहरू त्यस्तै हुन्। तपाईंहरू यस्तो फ्याक्ट्री हुनुहुन्छ, जसले देश, समाज र संसार बनाउने असल मनुष्य तयार गर्छ,’ उनले भने ।

डा. यादवले पछिल्लो समय जलवायु परिवर्तन र मानवीय दोहनका कारण प्राकृतिक विपद् बढेको भन्दै वातावरण संरक्षणमा सचेत हुन आग्रह गरे । हाम्रा पहाडहरू भत्किँदै गइरहेको र विश्व नै वातावरणीय संकटतर्फ धकेलिएको भन्दै उनले प्रकृति र वातावरण शिक्षामा नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता औंल्याए ।