चितवनका सञ्चारकर्मी मगरलाई अन्तर्राष्ट्रिय सम्मान

चितवनका सञ्चारकर्मी मगरलाई अन्तर्राष्ट्रिय सम्मान

एक दशकको सञ्चार यात्राको कदरस्वरूप ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड–२०२६’


काठमाडौं । सञ्चार क्षेत्रमा एक दशकदेखि सक्रिय चितवनका सञ्चारकर्मी पूर्णबहादुर मगर अन्तर्राष्ट्रियस्तरको सम्मानबाट पुरस्कृत भएका छन्। कला तथा संस्कृतिको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित ‘इन्टरनेशनल एक्सिलेन्सी अवार्ड–२०२६’ अन्तर्गत मगरलाई ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड’ प्रदान गरिएको हो।

काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मगरलाई अवार्ड प्रदान गरे। नेपालसहित भारत, बंगलादेश र भुटानका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई ५० विधामा सम्मान गरिएको समारोहमा सञ्चार तथा जनसम्पर्क क्षेत्रमा मगरले पुर्‍याएको योगदानको कदर गरिएको हो।

मगर विगत एक दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन्। स्थानीय समुदायका विषयवस्तु, सार्वजनिक सरोकार र सामाजिक गतिविधिलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएका उनी पछिल्लो समय स्थानीय सरकारको प्रेस तथा जनसम्पर्क व्यवस्थापनमा समेत सक्रिय छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि मगर राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको सचिवालयमा प्रेस संयोजकका रूपमा कार्यरत छन्। उनले नगरपालिकाका गतिविधि तथा सूचना सञ्चारमाध्यमसम्म पुर्‍याउने, सञ्चारकर्मीसँग समन्वय गर्ने तथा जनप्रतिनिधि र सञ्चारमाध्यमबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्।

अवार्ड ग्रहणपछि मगरले आफूले समुदायमा सञ्चारको माध्यमबाट गर्दै आएको कामको मूल्यांकनका रूपमा सम्मानलाई लिएको बताए। विभिन्न देशका विशिष्ट व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउनु गौरवको विषय भएको उनको भनाइ छ।

“सञ्चारको माध्यमबाट समुदायका लागि गर्दै आएको कामको प्रतिफलका रूपमा यो सम्मानलाई लिएको छु। यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ,” उनले भने।

समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानका कला, संस्कृति, सञ्चार, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सहभागिता थियो। आयोजकका अनुसार अवार्डले कला, संस्कृति तथा सामाजिक क्षेत्रमार्फत दक्षिण एसियाली मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।