गोरखामा बाढीपछि मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा रोक

गोरखामा बाढीपछि मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा रोक


गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।

चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आइतबार बिहान बाढी आएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नहुँदासम्म ती पदमार्गमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो ।

प्रशासनका अनुसार बिहान करिब ३ः३० बजे थेराङ खोलामा आएको बाढीले चुमनुव्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगाएको छ ।

पुलहरू बगाएपछि मनास्लु पदमार्ग तथा लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको छ । पदयात्राको तयारीमा रहेका तथा यसअघि नै यात्रामा रहेका पदयात्रीलाई समेत अर्को सूचना जारी नभएसम्म यात्रा स्थगित गर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, प्रहरी चौकी, स्थानीय तह तथा सम्बन्धित सम्पर्क नम्बरमा तत्काल जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

प्रशासनले पदयात्रीको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो सूचना जारी गरेको जनाएको छ ।