काठमाडौं । गत साताको भीषण वर्षासँगै आएको बाढी-पहिरोका कारण नुवाकोटस्थित ‘त्रिशूली थ्री बी’ हाइड्रोपावरको क्याम्पमा फसेका सिनियर जियोलोजिष्ट सुमेस अमात्यको परिवारले सरकारको सुस्त उद्धार प्रक्रियाप्रति असन्तुष्टि र आक्रोश पोखेको छ । आज माइतीघरमा बेपत्ताहरूका परिवारजनले गरेको प्रदर्शनमा सहभागी भएका अमात्यकी पत्नी र बहिनीले सरकारले समयमै उद्धारमा ध्यान नदिँदा ज्यान जोखिममा परेको बताए ।
बाढी आएको दिनदेखि नै ५४ वर्षीय भूगर्भविद् अमात्य लगायत १३ जना कर्मचारीहरू सो आयोजनाको भवनभित्रै फसिरहेको र हालसम्म उनीहरूको अवस्था अज्ञात रहेको उनीहरुले बताएका छन् ।
अमात्यकी पत्नी सुमना श्रेष्ठले गृह मन्त्रालयको उदासीनताप्रति दुःख व्यक्त गरिन् ।
उनले भनिन्, ‘हामी गृह मन्त्रालय गयौँ, तर त्यहाँभित्र छिर्नसमेत पासको लागि घण्टौँ कुर्नुपर्ने रहेछ । भित्रका कर्मचारीले रेस्क्यू भइरहेको छ, किन आत्तिनुभएको ? भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् । हामीलाई हाम्रो मान्छेको सुरक्षित फिर्ती चाहियो ।’
सुमेसका बहिनीले सरकारले विदेशी सहयोग लिन ढिलाइ गरेकोमा प्रश्न उठाइन् ।
उनले भनिन्, ‘यो सामान्य बाढी होइन, यो त सुनामी हो । १० मिनेटमै भवन पुरिएको छ । यस्तो बेला सरकारले किन विदेशी सहयोग समयमै लिएन ? के हँसिया र कोदालो बोकेर यत्रो विपत्तिबाट मान्छे बचाउन सकिन्छ ?’
उनका अनुसार त्रिशूली ३बी मा ‘हेभी लिफ्ट’ हेलिकप्टर र आधुनिक उपकरणको अभाव छ ।
‘सरकारसँग दक्ष जनशक्ति र उपकरण छैन भने किन विदेशी नगुहारेको ? हामी आफैँ उद्धारमा जान तयार छौँ, तर हामीलाई उपकरण र हेलिकप्टर उपलब्ध गराइयोस्,’ उनले भनिन् ।
गृहमन्त्रीले आवश्यक नीतिगत निर्देशन दिनुको साटो ग्यास सिलिण्डर बोकेर स्टन्ट गरेको उनको आरोप छ ।
‘अक्सिजन सिलिन्डर समातेको फोटो खिचाउन मलाई पठाउनुस्, म जान्छु । तर उहाँ त देशको गृहमन्त्री हो, उहाँले त कुर्सीमा बसेर उद्धारको ठोस योजना बनाउनुपर्ने होइन ? उहाँलाई सुनाइदिनुस्- यदि उहाँले केही गर्न सक्नुहुन्न भने बरु हात उठाएर सरेन्डर गरिदिनुस् । बरु हामीलाई जान दिनुस्, हामी गएर खोज्छौँ ।’

प्रतिक्रिया