एनपीएलको प्रसारण अधिकार ३२ करोड ६८ लाखमा बिक्री

एनपीएलको प्रसारण अधिकार ३२ करोड ६८ लाखमा बिक्री


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टेलिभिजन र ओटीटी प्रसारण अधिकार ३२ करोड ६८ लाख रुपैयाँमा बिक्री गरेको छ ।

क्यानले ओटीटी प्रसारण अधिकार विश्वव्यापी रूपमा नेट टिभी प्रालिलाई दिएको छ । ओटीटी अधिकारबापत नेट टिभीले क्यानलाई १८ करोड ४ लाख रुपैयाँ तिर्नेछ ।

त्यस्तै, नेपालभित्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले पाएको छ । उक्त अधिकार १४ करोड ६४ लाख रुपैयाँमा बिक्री भएको क्यानले जनाएको छ ।

नेपालबाहेक अन्य देशमा एनपीएलको टेलिभिजन प्रसारण भने स्टार स्पोर्ट्सबाट हुँदै आएको छ ।

यसैगरी एनपीएलको टिकटिङ अधिकार इसेवा लिमिटेडले पाएको छ । क्यान र इसेवाबीच टिकटिङ अधिकारका लागि ८५ लाख रुपैयाँमा सहमति भएको छ ।

सहमति भएका व्यावसायिक सर्तअनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछ ।