एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ


हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको सवारी साधन (कार) लाई ग२च ६१५ नम्बरको अर्काे सवारी साधन (पिकअप) गाडीले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

स्कटिङ गर्दै आएको पिकअप गाडी भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षका देवनारायण महतो र पिकअप चालक चितवनको भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षका टेकबहादुर दोङ रहेका छन् । “विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुई वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो”, प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो । गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अघि बढाइएको बताउनुभयो ।