भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि कारबाही हुनुपर्छ – गगन थापा

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि कारबाही हुनुपर्छ – गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनालाई छुट्टाछुट्टै रूपमा हेरेर होइन, दुवै दिन भएका आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

बीपी जयन्तीका अवसरमा बुधबार भिडिओ सन्देश जारी गर्दै थापाले आन्दोलनका क्रममा भएको गोली प्रहारदेखि सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनीसम्मका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।

भदौ २३ गते जेन जी आन्दोलनका क्रममा गोली चल्दा युवाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित देशका विभिन्न स्थानमा सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो ।

थापाले दुवै दिनका घटनामा दोषी देखिएकालाई समान रूपमा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए । ‘भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ । २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ उनले भने, ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ ।’

भदौ २४ को घटनामा आफ्नो घरसमेत जलेको स्मरण गर्दै थापाले त्यस दिनको घटनाले आफू र अन्य धेरै परिवारलाई गहिरो चोट दिएको बताए ।