काठमाडौं । यमनमा पुनः द्वन्द्व चर्किएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारका अनुसार हुथी विद्रोहीले गरेको तोप प्रहारमा तीन बालबालिकाको मृत्यु भएको छ ।
उता साउदी अरबले इरान समर्थित हुथी समूहले आफ्नो पूर्वाधारमा लगातार आक्रमण गरिरहेको आरोप लगाएको छ ।
बुधबार दुवै पक्षले यस्ता आरोप लगाएका हुन् । हुथीले भने पछिल्लो १२ घण्टामा साउदी अरबले ५४ पटक हवाई हमला गरेको दाबी गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ ।
साउदी समर्थित सरकारी सेना र हुथीबीच पुनः सुरु भएको द्वन्द्व अमेरिकाले इरानमाथि गरेको युद्ध र इजरायलसँगको क्षेत्रीय तनाव बढिरहेका बेला चर्किएको हो । पाकिस्तानले मंगलबार हुथीका निरन्तर आक्रमणले हालै हस्ताक्षर भएको मक्का संयुक्त रक्षा सम्झौता सक्रिय हुन सक्ने चेतावनी दिएको थियो । उक्त सम्झौतामा साउदी अरब, टर्की र पाकिस्तान सहभागी छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो भिडन्तमा १ हजारभन्दा बढी मानिस मारिएका वा घाइते भएका छन् भने दशौँ हजार विस्थापित भएका छन् ।
बुधबार सरकारी समाचार संस्था सबाले मध्य यमनको मारिब प्रान्तमा हुथीले गरेको गोलाबारीमा एक शिशुसहित कम्तीमा तीन बालबालिकाको मृत्यु भएको जनाएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । सबाका अनुसार पछिल्लो ४८ घण्टामा यो दोस्रो यस्तै हमला हो ।
यसअघि भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए ।
हुथीले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन । तर, समूहले मंगलबार उत्तरी अल–जौफ प्रान्तस्थित एक कारागारमा साउदी अरबले गरेको भनिएको हवाई हमलामा मृत्यु हुनेको संख्या कम्तीमा ३२ पुगेको जनाएको छ । उक्त घटनामा अन्य सात जना घाइते भएको हुथीको दाबी छ ।
यमनमा लामो समयदेखि युद्ध
यमन सन् २०१४ देखि द्वन्द्वमा फसेको छ । त्यतिबेला हुथीले राजधानी सानालाई नियन्त्रणमा लिएपछि त्यसको प्रतिक्रियामा साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो । त्यसपछि सुरु भएको विनाशकारी युद्धमा अनुमानित १ लाख ५० हजार मानिसको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसंघको पहलमा सन् २०२२ मा भएको युद्धविरामले ठूलो स्तरको भिडन्त रोकिएको थियो । तर सरकारी सेनाले हुथी नियन्त्रणमा रहेको साना विमानस्थलमा गरेको हमलापछि गत जुलाईमा पुनः भिडन्त सुरु भएको हो ।
गत साता हुथीले होदेइदा र ताइज प्रान्तमा ठूलो सैन्य अभियान सुरु गरेको थियो । महत्वपूर्ण समुद्री मार्ग बाब अल–मन्देबतर्फ अघि बढ्ने उद्देश्यसहित सुरु गरिएको उक्त अभियानले सरकारी समर्थित सेनालाई जवाफी कारबाही गर्न बाध्य बनाएको छ ।
सरकारी सेनाले अल–जौफसहित देशका अन्य क्षेत्रमा पनि सैन्य कारबाही विस्तार गरेको छ । अल–जौफलाई राजधानी सानातर्फ जाने प्रवेशद्वारका रूपमा हेरिन्छ ।
साउदीमा हुथी आक्रमणको चेतावनी
यमनमा जारी भिडन्तको असर साउदी अरबसम्म पनि फैलिएको छ ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मलिकीले बुधबार हुथीले साउदी अरबका सम्पत्ति तथा पूर्वाधारलाई निरन्तर निशाना बनाइरहेको बताए । उनका अनुसार हुथीले खामिस मुशैत, अब्हा र जाजानमा ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोनबाट आक्रमण गरेका थिए ।
उनले हुथीका “गम्भीर आक्रमण” को जवाफ दिने चेतावनी दिए ।
साउदी नागरिक सुरक्षा प्राधिकरणले बुधबार र बिहीबार बिहान खामिस मुशैत तथा अब्हाका लागि पटक–पटक सुरक्षा सतर्कता जारी गरेको थियो । ती घटनासँग सम्बन्धित कुनै मानवीय क्षतिको विवरण भने आएको छैन ।
यसअघि हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार १२ घण्टाको अवधिमा साउदी सेनाले यमनका ६ वटा प्रान्तमा ५४ पटक हवाई हमला गरेको दाबी गरेका थिए । उनका अनुसार अल–जौफ, मारिब, ताइज, होदेइदा, सादा र अल–बैदामा ती हमला भएका थिए ।
सारीले ती हमलाबाट भएको क्षतिको विवरण दिएका थिएनन् । उनका अनुसार आक्रमणमा प्रयोग भएका विमान खामिस मुशैतस्थित किङ खालिद एयर बेस र ताइफस्थित किङ फहद एयर बेसबाट उडेका थिए ।
“हाम्रा देशमाथि भइरहेको आक्रमण र हवाई हमलाको जवाफ दिइनेछ र त्यसलाई दण्डित गरिनेछ,” सारीले भने ।
हुथीले मंगलबार पनि अघिल्ला केही दिनमा साउदी सेनाले हुथी नियन्त्रणमा रहेका क्षेत्रमा १२१ पटक हवाई हमला गरेको दाबी गरेको थियो । त्यसमा अल–जौफको कारागारमा भएको हमला पनि समावेश थियो ।
हुथीले जवाफी कारबाहीस्वरूप अब्हा, नजरान र जिजानस्थित साउदी अराम्कोका संरचना, इकोनोमिक सिटी तथा खामिस मुशैत एयर बेसमा आक्रमण गरेको दाबी गरेको थियो ।
साउदी अधिकारीहरूले मंगलबार हालैका हुथी आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको बताएका थिए ।

प्रतिक्रिया