भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र

भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ ।

कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ ।

नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ ।

यही भदौ १० गते बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो । त्यसपछि फेरि भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीद्वारा स्थलगत निरीक्षण गरियो र प्रधानमन्त्री पूर्वाधारमन्त्रीबीच तत्काल मर्मतबारे छलफल भएको थियो ।

यसै क्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए ।