साहित्य सदनमा विपीका आख्यानमाथि चर्चा

साहित्य सदनमा विपीका आख्यानमाथि चर्चा


काठमाडौँ। नेपाली साहित्यका सशक्त आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले बिहीबार ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो ।

सङ्गोष्ठीमा प्रा डा लक्ष्मणप्रसाद गौतमले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारीपुरुष सम्बन्ध’, प्रा डा नारायणप्रसाद चालिसेले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन’ र डा अनुपमा रेग्मीले ‘विश्वेश्वरप्रसाद कोइराला कथामा प्रयुक्त दिग्काल’ विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभयो ।

गोष्ठीपत्र प्रस्तुतकर्ताले नेपाली साहित्यको आख्यान क्षेत्रमा कोइरालाको विशिष्ट एवं बहुआयामिक योगदान रहेको चर्चा गर्दै उहाँका रचनामाथि नयाँ दृष्टिकोणबाट विश्लेषण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा पूरक प्रस्तोताका रूपमा प्रा डा रमेशप्रसाद भट्टराई, प्रा डा ज्ञानु पाण्डे र प्रा डा गोपीन्द्र पौडेलले कोइराला नेपाली आख्यान क्षेत्रका धरोहर भएको उल्लेख गर्दै प्रस्तुत गोष्ठीपत्रमाथि टिप्पणी तथा सुझाव दिनुभएको थियो ।

वरिष्ठ साहित्यकार डा विष्णुविभू घिमिरे, प्रा डा जीवेन्द्र गिरी, प्रा हेमचन्द्र नेपाल, प्रा पुरुषोत्तम दाहाल, प्रा डा रामप्रसाद ज्ञवाली, प्रा डा जगदीशचन्द्र भण्डारीलगायतले विमर्श गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराईले कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानमाथि प्रकाश पार्दै आख्यानमा केन्द्रित सङ्गोष्ठी वर्तमान सन्दर्भमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले कोइरालाको लोकतन्त्रप्रतिको योगदानबारे चर्चा गर्दै साहित्य सदनलाई आफ्नो साथ र सहयोग निरन्तर रहने बताउनुभयो ।

सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले कोइरालाको नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा विशिष्ट योगदान रहेको बताउनुभयो ।