एफ-१५ खसालेपछि अमेरिकी पाइलटले इरानमा कसरी बिताए ४८ घण्टा ?

एफ-१५ खसालेपछि अमेरिकी पाइलटले इरानमा कसरी बिताए ४८ घण्टा ?


एजेन्सी । ‘माथि हेर्दा प्यारासुट थिएन, त्यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो क्षण थियो’

‘एकपटक मैले माथि हेरेँ, तर त्यहाँ प्यारासुट थिएन । त्यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो क्षण थियो ।’

यो भनाइ इरानमा अमेरिकी विमान खसालिएपछि प्यारासुटमा खराबी आएर तीव्र गतिमा जमिनतर्फ खसिरहेका अमेरिकी वायुसेनाका एक पाइलटको हो ।

त्यसपछि उनलाई उद्धार गर्न निकै जोखिमपूर्ण अभियान सञ्चालन गरिएको थियो ।

अमेरिकी पाइलटले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट्स’लाई दिएको अन्तर्वार्तामा आफ्नो वास्तविक नाम भने खुलाएका छैनन् । आइतबार प्रसारित कार्यक्रममा उनलाई ‘ब्राभो’ नामबाट चिनाइएको थियो ।

अप्रिलमा इरानमाथि गरिएको अमेरिकी आक्रमणमा सहभागी कुनै पाइलटले पहिलोपटक आफूले सामना गर्नुपरेको परिस्थितिबारे सार्वजनिक रूपमा बताएका हुन् ।

‘यो चमत्कार नै हो’

सीबीएसको कार्यक्रममा ‘ब्राभो’का रूपमा परिचय गराइएका पाइलटले अन्तर्वार्ताका क्रममा सुनाएका घटना निकै भयावह छन् ।

विमान क्षतिग्रस्त भएपछि त्यसमा सवार दुवै अमेरिकी सैनिकले विमानबाट हामफालेका थिए । त्यसपछि उनीहरू एकअर्काबाट अलग भए । अमेरिकी विशेष फौज उद्धारका लागि नपुगेसम्म उनीहरूले इरानी सैनिकबाट जोगिँदै लुक्नुपरेको थियो ।

प्यारासुटबिनै जमिनतर्फ खस्दाको अवस्थालाई कसरी वर्णन गर्नुहुन्छ भन्ने प्रश्नमा ब्राभोले भने, ‘यसलाई कुनै सहाराबिना तल खस्नु भन्नु उचित हुन्छ ।’

उनले आफू कति तीव्र गतिमा तल खसिरहेको छु भन्नेमा ध्यान नदिएको बताए । बरु तत्काल सामना गरिरहेका समस्याबाट कसरी बाहिर निस्कने भन्नेमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।

‘मैले प्यारासुट खोल्न वा त्यसका भाग तानेर खुकुलो बनाउन सक्ने सबै प्रयास गरिरहेको थिएँ,’ उनले भने ।

ब्राभोले आफ्नो ज्यान जोगिनुलाई ‘चमत्कार’ भनेका छन् । यद्यपि उनको ढाड, काँध र हातको हड्डी भाँचिएको थियो । जमिनमा ठोक्किँदा उनको गति प्रतिघण्टा ७० देखि १०० माइल अर्थात् करिब ११३ देखि १६१ किलोमिटर रहेको उनले बताएका छन् ।

खसालिएको विमानमा सवार अर्का अमेरिकी सैनिकलाई ‘अल्फा’ नामबाट परिचय गराइएको छ । उनले भने सीबीएसलाई अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए ।

घाइते अवस्थामा पनि पहाडको चुचुरोमा पुगे

सीबीएसका अनुसार दुई सिट भएको एफ–१५ई विमान काँधबाट प्रहार गर्न सकिने मिसाइलबाट खसालिएको थियो । उक्त विमानको मूल्य करिब ३ करोड अमेरिकी डलर अर्थात् २ करोड २० लाख पाउन्ड थियो भने मिसाइलको मूल्य करिब १ लाख डलर थियो ।

चोट लागे पनि ब्राभो पैदल हिँड्दै एउटा अग्लो पहाडको चुचुरोसम्म पुगेका थिए । बाटोभरि उनलाई इरानी सैनिकले पक्राउ गर्न सक्ने डर थियो ।

त्यस अवस्थामा आफूलाई सम्झाउँदै उनले भनेका थिए, ‘हिम्मत नहार, नत्र इरानी सैनिकले तिमीलाई पक्राउ गर्नेछन् र तिमी इरानी टेलिभिजनमा देखिनेछौ ।’

अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार अल्फालाई ६ घण्टाभित्र उद्धार गरिएको थियो । उद्धार अभियानका क्रममा भीषण गोलीबारी भएको थियो ।

‘भित्र जाँदा पनि लगातार गोली चलिरहेको थियो र बाहिर निस्कँदा पनि । तर उनीहरूले अल्फालाई उद्धार गरेर ल्याए,’ हेगसेथले भनेका थिए ।

ब्राभोलाई भने शत्रु क्षेत्रमा ४८ घण्टा बिताएपछि उद्धार गरिएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डका एडमिरल ब्राड कूपरका अनुसार उद्धार अभियानका क्रममा एक समय इरानभित्र ९० भन्दा बढी अमेरिकी सैनिक उपस्थित थिए । उनका अनुसार ४६ वर्षपछि पहिलोपटक अमेरिकी सैनिकले इरानभित्र यस्तो अभियान सञ्चालन गरेका थिए ।

तर सैनिकहरूलाई बाहिर निकाल्न पुगेका विमान र हेलिकोप्टर मरुभूमिको बालुवामा फसे । ती विमान तथा हेलिकोप्टर नष्ट गर्नुपरेपछि विशेष फौजका सैनिकहरूले उद्धारका लागि अर्को टोली आउँदासम्म पर्खनुपरेको थियो ।

सीबीएसका अनुसार नष्ट गरिएका दुई अमेरिकी विमानमध्ये प्रत्येकको मूल्य करिब १० करोड डलर थियो । इरानको हातमा अमेरिकी प्रविधि नपुगोस् भनेर केही ‘लिटल बर्ड’ हेलिकोप्टरसमेत नष्ट गरिएको थियो ।

यो उद्धार अभियान इरानविरुद्ध युद्ध सुरु भएको करिब पाँच सातापछि सञ्चालन गरिएको थियो । अमेरिका र इजरायलले सुरु गरेको उक्त युद्ध अहिले सातौँ महिनामा प्रवेश गरिसकेको छ ।

नोभेम्बरमा अमेरिकामा मध्यावधि निर्वाचन हुँदै छ र चुनावी प्रचारको समय नजिकिँदै गर्दा युद्धप्रति अमेरिकी जनताको असन्तुष्टि बढ्दै गएको बताइएको छ ।

विश्वभर ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिका साथै त्यसको प्रभाव अन्य वस्तु तथा सेवाको मूल्यमा समेत परेपछि युद्धप्रति जनताको असन्तुष्टि थप बढेको बताइएको छ ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध कम्तीमा नोभेम्बर ३ मा हुने निर्वाचनको दिनसम्म जारी रहने बताएका थिए ।