धुनिवेशी।
नेपाली कांग्रेसका युवा नेता माधव प्रसाद सिलवालले नेपाली कांग्रेस धुनिवेशी नगर कार्यसमितिको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सोमबार सम्पन्न नेपाली कांग्रेस धुनिवेशी नगरपालिकाका नौ वटै वडाको वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई दिँदै सिलवालले उम्मेदवारी घोषणा गरेका हुन्।
सिलवालले आफ्नो उम्मेदवारी कसैको विरोध वा कसैको योगदानलाई अस्वीकार गर्न नभई पार्टीले प्राप्त गरेको राजनीतिक विरासतलाई समयअनुकूल र बलियो संगठन निर्माण गर्ने सोचका साथ आएको स्पष्ट पारे। “म यहाँ केवल एउटा पदका लागि आफ्नो नाम घोषणा गर्न उभिएको छैन। म एउटा दृष्टिकोण र जिम्मेवारी सार्वजनिक गर्न उभिएको छु,” उनले भने।
उनले संगठनलाई संस्थागत बनाउने मुख्य सोच अघि सारेका छन्। सभापति बलियो भएर मात्र संगठन बलियो नहुने भन्दै उनले प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। नौ वडाको अवस्था बुझ्ने, नियमित समन्वय गर्ने, सदस्यता तथा संगठनको अभिलेख व्यवस्थित गर्ने, नियमित प्रशिक्षण सञ्चालन गर्ने र निर्णयको कार्यान्वयन तथा समीक्षा गर्ने प्रणाली निर्माण गर्ने उनको प्राथमिकता रहेको छ।
युवा नेतृत्व विकासमा विशेष जोड दिँदै सिलवालले भने, “युवालाई भविष्यको नेतृत्व भनेर मात्र भाषण गर्नु पर्याप्त छैन। भविष्यको नेतृत्व आजै तयार गर्नुपर्छ।” पार्टीको इतिहास र विचारसँगै संविधान, स्थानीय सरकार, बजेट, नीति निर्माण, वक्तृत्व, सञ्चार र नेतृत्व विकासका विषयमा युवाहरूलाई प्रशिक्षण दिनुपर्ने उनको धारणा छ। महिला सहभागिता संख्यामा मात्र नभई निर्णय र नेतृत्वमा अर्थपूर्ण हुनुपर्ने र अग्रज तथा नयाँ पुस्ताबीच नियमित संवादको वातावरण बनाउनुपर्ने उनले बताए।
राजनीतिक संस्कारमा जोड दिँदै उनले “मत फरक हुन सक्छ, सम्मान फरक हुनु हुँदैन” भन्ने विश्वास व्यक्त गरे। विचार, मत र कार्यशैली फरक हुन सक्ने भए पनि सम्बन्ध बिगार्नु नहुने र व्यक्तिगत अपमान तथा विभाजनबाट संगठन जोगाउनुपर्ने उनको भनाइ छ।
आर्थिक तथा संगठनात्मक पारदर्शितालाई पनि प्राथमिकता दिने उनले उल्लेख गरे। कार्यक्रम अघि योजना, स्रोत र जिम्मेवारी स्पष्ट गर्ने तथा कार्यक्रमपछि अभिलेख र समीक्षा गर्ने अभ्यास संस्थागत बनाउनुपर्ने उनको धारणा छ। सभापतिको पदलाई अधिकारभन्दा बढी जिम्मेवारीका रूपमा बुझ्दै उनले सभापति सबैभन्दा पहिले सुन्ने, समस्या पर्दा जिम्मेवारी लिने, काम बाँड्ने र सबैलाई जोड्ने व्यक्ति हुनुपर्ने बताए।
अन्त्यमा सिलवालले भने, “हामीले विगतलाई सम्मान गरौँ, वर्तमानलाई व्यवस्थित गरौँ र भविष्यको नेतृत्व तयार गरौँ।” अग्रजको अनुभव, समकालीन पुस्ताको जिम्मेवारी र नयाँ पुस्ताको ऊर्जालाई जोडेर धुनिवेशी कांग्रेसलाई संस्थागत, अनुशासित, विचारशील र जनतासँग जोडिएको संगठन बनाउने आफ्नो प्रस्ताव रहेको उनले स्पष्ट पारे।
उनको कार्यशैली सुन्ने, संवाद गर्ने, योजना बनाउने, जिम्मेवारी दिने, काम गर्ने, समीक्षा गर्ने र सुधार गर्ने रहनेछ। यही सोच र जिम्मेवारीका साथ उनले नेपाली कांग्रेस धुनिवेशी नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिक्रिया