बसमा आगलागी : मृतक अर्जुन दोङले फरक-फरक व्यक्तिको लाइसेन्स पेस गरेको खुलासा

बसमा आगलागी : मृतक अर्जुन दोङले फरक-फरक व्यक्तिको लाइसेन्स पेस गरेको खुलासा


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ट्राफिक प्रहरीसँगको विवाद हुँदा गाडीमा आगजनीपछि मृत्यु भएका सवारी चालक मकवानपुरका अर्जुन दोङसँग सवारी चालक अनुमपतिपत्र नभएको पाइएको छ ।

मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङ तामाङ रहेको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का अर्जुन दोङ तामाङ भन्ने खुलेको छ ।’

भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा दिउँसो करिब साढे १२ बजे दोङ आफैँले आगो लगाएका थिए ।

आगलागीमा परी घाइते भएका चालकको कीर्तिपुर अस्पतालमा सोमबार राति मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा चालक तामाङले आफ्नै नामको नभई अन्य व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रयोग गरेको खुलेको एसपी सुवेदीले जानकारी दिए । उनको आधिकारिक लाइसेन्स जारी भएको विवरणसमेत फेला पार्न नसकेको उनले बताए ।

एसपी सुवेदीका अनुसार दोङले यातायात समिति लगायत विभिन्न निकायमा पेस गरेका कागजातमा समेत फरक–फरक व्यक्तिको नाममा रहेको लाइसेन्स दुरुपयोग गरेको देखिएको छ ।

एसपी सुवेदीले भने, ‘उहाँको अहिलेसम्म बुझ्दा अरू व्यक्तिकै नामको लाइसेन्स दुरुपयोग गर्नुभएको रहेछ । उहाँको आधिकारिक व्यक्तिगत लाइसेन्स अहिलेसम्म हामीले फेला पार्न सकेका छैनौँ । लाइसेन्सको विवरण हेर्दाखेरि अहिलेसम्म उहाँको लाइसेन्स जारी भएको हामीले फेला पार्न सकेका छैनौँ ।’

मृतकको शव पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धान अघि बढाइने एसपी सुवेदीले जानकारी दिए । मृतकका आफन्तले भने दोषीमाथि कारवाहीको माग गर्दै शव बुझ्न मानेका छैनन् । कीर्तिपुर अस्पतालअगाडि आफन्तले नारावाजी गरिरहेका छन् ।