काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा चलिरहेका बेला अमेरिका र इरानका उच्च अधिकारीबीच न्यूयोर्कमा वार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने सहमति नभए इरानलाई ‘ध्वस्त पार्न’ सक्ने चेतावनी दिएको दिन नै दुई देशका अधिकारीबीच वार्ता भएको हो ।
कतारको मध्यस्थतामा भएको वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघ्ची र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विट्कफ सहभागी थिए । जुनमा भएको युद्धविराम भंग भएपछि दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।
वार्ताबाट कुनै ठोस सहमति वा प्रगति भएको जानकारी सार्वजनिक भएको छैन । यद्यपि विट्कफले वार्ताको एक चरण पूरा भएको र यसले ‘रचनात्मक तथा आशाजनक’ परिणाम दिने आफूहरूले आशा गरेको बताएका छन् । इरानले भने अमेरिकाले आफ्ना ‘आक्रामक गतिविधि’ अन्त्य गर्नुपर्ने माग दोहोर्याएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गरेको थियो । इरानले होर्मुज जलडमरूमध्यसमेत अवरुद्ध गरेको थियो ।
युद्धअघि विश्वमा प्रयोग हुने करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास होर्मुज जलडमरूमध्य हुँदै ओसारपसार हुने गरेको थियो । जलडमरूमध्य बन्द भएपछि विश्व बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आएको छ ।
युद्ध अन्त्य गर्ने उपाय खोज्न ट्रम्पमाथि दबाब पनि बढेको छ । विशेषगरी नोभेम्बरमा अमेरिकी कंग्रेसको निर्वाचन हुन लागेकाले युद्ध अन्त्य गर्नुपर्ने दबाब बढेको हो ।
मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा सुरक्षा र हिंसात्मक अपराध नियन्त्रणमा आफ्नो प्रशासनले गरेका कामको चर्चा गरेका थिए । उनका केही अभिव्यक्ति महासभामा उपस्थित कूटनीतिज्ञभन्दा अमेरिकी मध्यावधि निर्वाचनका मतदातालाई लक्षित गरेजस्तो देखिन्थे ।
सम्बोधनको ठूलो हिस्सा उनले इरानसँगको युद्धको औचित्य पुष्टि गर्न खर्चिएका थिए । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा विभाजन गहिरिँदै गएको भन्दै सबै देश र जनताबीचको ‘अन्तरनिर्भरता’मा जोड दिएका थिए ।
ट्रम्पले इरानले आणविक हतियार प्राप्त गर्न नपाओस् भनेर युद्ध आवश्यक भएको तर्क गरेका थिए । उनले आफ्नो रणनीतिलाई ‘शक्तिमार्फत शान्ति’का रूपमा प्रस्तुत गर्दै सम्झौता वा सहमतिभन्दा दबाब र चेतावनीलाई प्राथमिकता दिएका छन् ।
उनले भनेका थिए, ‘इरानसँग यस्तो सम्झौता हुनेछ, जसले उसलाई पुनर्निर्माण गर्न र पहिलेभन्दा अझ शक्तिशाली देश बन्न अनुमति दिनेछ? वा म इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्छु र त्यो पनि छिट्टै?’
ट्रम्पले नोभेम्बरको निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
पछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले महासभाको छेउमा अमेरिकी अधिकारीहरूले इरानी प्रतिनिधिमण्डलसँग तीन घण्टा ‘धेरै फलदायी’ वार्ता गरेको बताएका थिए ।
इरानको सरकारी टेलिभिजनले पनि विदेशमन्त्री अब्बास अराघ्चीले विट्कफसँग भेटवार्ता गरेको पुष्टि गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले कतारका मध्यस्थमार्फत वार्ता भएको बताएका छन् । उनका अनुसार तेहरानले युद्ध सबै मोर्चामा अन्त्य गर्नुपर्ने र अमेरिकाले आफ्ना ‘आक्रामक गतिविधि’ रोक्नुपर्ने सर्त राखेको छ ।
संयुक्त राष्ट्रसंघको भवनबाट बाहिरिँदै गर्दा विट्कफले औँठा उठाएर सकारात्मक संकेत दिएका थिए । पछि एक्समा उनले मध्यस्थकर्तामार्फत दिनभर दुवै पक्षबीच सन्देश आदानप्रदान भएको र वार्ताको एक चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
विट्कफले मध्यस्थकर्ताहरूले आफ्नो काम जारी राख्ने पनि बताएका छन् ।
जुनमा युद्धविराम भंग भएयता अमेरिका र इरानबीच बेलाबेलामा आक्रमण र प्रतिआक्रमण हुँदै आएको छ ।
इरानले अनुमति नलिई होर्मुज जलडमरूमध्य पार गर्न खोजेका भन्दै केही पानीजहाजमाथि आक्रमण गरेको छ । अमेरिकाले पनि जलडमरूमध्यमा रहेका इरानी स्थल तथा समुद्री संरचनामाथि आक्रमण गर्नुका साथै इरानको तटबाहिर रहेका इरानी तेल ट्यांकरमाथि कारबाही गरेको छ ।
अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दीसमेत कायम राखेको छ, जसले इरानको अर्थतन्त्रमा ठूलो असर पारेको छ ।
तेहरानलाई युद्ध अन्त्य गर्ने सम्झौतामा सहमत गराउन ट्रम्पले इरानसँग व्यापार जारी राख्ने कुनै पनि देशमाथि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन् । तर इरानले आफ्नो अडान परिवर्तन गरेको संकेत देखिएको छैन । इरानले अमेरिका र इजरायलले युद्ध अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ । यसमा लेबनानमा इजरायलले आक्रमण गरिरहेको इरान समर्थित शिया समूह हिजबुल्लाहविरुद्धको कारबाही पनि समावेश छ ।
इरानसँग गठबन्धनमा रहेको यमनको हुथी समूहले पनि पछिल्लो समय साउदी अरबबाट हुने तेल ढुवानीमा अवरोध पुर्याउने उद्देश्यले आक्रमण तीव्र बनाएको छ । यसले साउदी अरबसँगको द्वन्द्वसमेत थप चर्किएको छ ।

प्रतिक्रिया