एमाले बैठकमा सुहाङले भने – जनताको विश्वास र भरोसा टुट्दै गएको छ

एमाले बैठकमा सुहाङले भने – जनताको विश्वास र भरोसा टुट्दै गएको छ


काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीप्रति जनताको विश्वास र भरोसा टुट्दै गएको बताएका छन् ।

बुधबार एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेम्वाङले पार्टीको अवस्था ठिकठाक नरहेको बताएका हुन् । उनले वास्तविक अवस्थालाई स्वीकार नगरी ‘ठिक छ’ भनेर असत्य बोल्न नहुने बताए ।

‘हामीप्रतिको विश्वास र भरोसा टुट्दै गएको छ । ठिक छ भनेर असत्य बोल्नु हुन्न । क्रान्तिकारीहरूले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनुहुन्न,’ उनले भने ।

नेम्वाङले पछिल्लो अवस्थामा पार्टीलाई जनतासँग पुनः जोड्न नयाँ मार्गचित्र आवश्यक रहेको बताए । पुरानै शैली र ढर्राबाट अब पार्टी अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

उनले समाज र नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टीले नयाँ मार्गचित्र बनाउनुपर्नेमा जोड दिए । ‘मेरो अनुरोध छ कि समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिँड्ने त्यो भनिदिनुस्,’ उनले भने ।