बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला

बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला


कर्णाली। सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो । उक्त सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि बेवारिसे अवस्थामा कालो छाताको कपडाले बेरेको अवस्थामा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई नाल साबुत र एक नाल बेसाबुत गरी जम्मा तीन नाल घरेलु भरुवा बन्दुक बेबारिस अवस्थामा रहेको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर बन्दुक बरामद गरेको हो । ती बेबारिसे बन्दुकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।