धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ।
बजेटसम्बन्धी निर्णय गर्न दिउँसो १ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ । त्यसपछि बजेट दिउँसो २ बजे प्रदेशसभामा बजेट प्रस्तुत हुने सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले बताए। ‘आज दिउँसो २ बजे पक्का बजेट आउँछ,’ मन्त्री रावलले भने।
अघिल्लो सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि चालु आर्थिक वर्ष सुरु भएदेखि नै प्रदेशमा बजेट शून्यताको अवस्था छ। बजेट अभावमा प्रदेश सरकारका नियमित कामकाज, विकास निर्माण तथा सेवा प्रवाह प्रभावित हुँदै आएका छन्। स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन थालेको छ।
बजेट ल्याउने विषयमा सरकारभित्रै देखिएको अन्योल र विवादका कारण प्रदेशसभा बैठक पटक–पटक प्रभावित हुँदै आएको थियो। आज बजेट प्रस्तुत भएसँगै लामो समयदेखि कायम बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया