उपसभापति र महामन्त्री निर्वाचित

उपसभापति र महामन्त्री निर्वाचित


काठमाडौँ, असोज २६ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी हुनुभएको छ ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभएको छ ।

महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले चार हजार १९४ मत प्राप्त गरेर पहिलो स्थान हासिल गर्नुभएको छ भने राणा दुई हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा विजयी हुनुभएको छ ।

यस्तै महिला महामन्त्रीतर्फको एक पदमा सङ्ग्रौला तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।