पृथ्वीनारायण शाहको पालादेखिको ऐतिहासिक परम्परा: गोरखाबाट काठमाडौँ पठाइयो दसैँको फूलपाती

पृथ्वीनारायण शाहको पालादेखिको ऐतिहासिक परम्परा: गोरखाबाट काठमाडौँ पठाइयो दसैँको फूलपाती


काठमाडौं । बडादसैँको सातौँ दिन शनिबार ऐतिहासिक गोरखा दरबारको दसैँघरबाट विधिपूर्वक पूजाअर्चना गरी काठमाडौँस्थित हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
शुभसाइतअनुसार शनिबार बिहान ९ बजे बाजागाजासहित गोरखा दरबारबाट बिदाइ गरिएको उक्त डोलीलाई सरकारी गाडीमार्फत काठमाडौँ ल्याइएको छ।
बडामहाराज पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सुरु गरेदेखि नै निरन्तर चल्दै आएको यस ऐतिहासिक परम्पराले गोरखा र हनुमानढोका दरबारबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई जीवन्त राख्दै आएको छ।
गोरखाबाट पठाइएको फूलपाती आजै साँझ हनुमानढोका दरबारमा हर्षबढाइँका साथ भित्र्याइने कार्यक्रम रहेको छ।