माडीका धानखेतमा के खोज्दै पुगिन् सोविता गौतम?

माडीका धानखेतमा के खोज्दै पुगिन् सोविता गौतम?


काठमाडौं। चाडपर्वको फुर्सदिलो समयमा धेरैजसो राजनीतिक नेतृत्व पारिवारिक भेटघाट र विश्राममा सीमित रहँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने विकास निर्माणका काम र जनताका समस्या बुझ्न खेतबारीदेखि नदी तटीय क्षेत्रसम्म सक्रिय रहनुभएको छ। दसैँको बिदालाई उपयोग गर्दै उहाँले आफ्नो निर्वाचन क्षेत्र चितवन–३ का ग्रामीण भेग पुगेर प्रत्यक्ष जनसंवाद गर्नुभएको हो।
माडी नगरपालिकामा धान काटिरहेका किसानका खेतमै पुगेर मन्त्री गौतमले कृषि उत्पादनको अवस्था, समयमै मल-बीउको उपलब्धता र उचित बजार मूल्यका विषयमा जानकारी लिनुभयो। काठमाडौँ धाएर मन्त्रालयमा समस्या राख्न कठिन हुने किसानहरूले आफ्नै खेतको गरामा मन्त्रीलाई भेटेर समस्या र गुनासा बिसाउन पाएका थिए।
यसैगरी, मन्त्री गौतमले बाढी र कटानको उच्च जोखिममा रहेको नारायणी नदी तटीय क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो। भरतपुर महानगरपालिकाका वडा नं ३, १६, १७, २६, २७ र २८ अन्तर्गत काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका बस्ती पुगेर उहाँले स्थानीयको जोखिम न्यूनीकरण र बस्ती सुरक्षासम्बन्धी माग सुन्नुभयो। स्थानीय बासिन्दासँग छलफल गर्दै मन्त्री गौतमले नदी नियन्त्रणका लागि अधुरा रहेका तटबन्ध निर्माणका कामहरूलाई छिट्टै पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विकास निर्माणतर्फ माडी जोड्ने राष्ट्रिय निकुञ्ज क्षेत्रको हुलाकी सडक कालोपत्रे प्रक्रिया, विभिन्न खोलामा पक्की पुल र नारायणी तटबन्धनका कामलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी पनि उहाँले दिनुभयो। दसैँको बिदाकै अवसरमा चितवन पुग्नुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग समेत निर्वाचन क्षेत्रका बासिन्दाको प्रत्यक्ष अन्तरक्रिया गराउँदै मन्त्री गौतमले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पार्नुभएको छ। पारिवारिक शोकका कारण यस वर्षको टीका नलगाउनुभएकी मन्त्री गौतम बिहानैदेखि राति अबेरसम्म जनता र कार्यकर्ताका गुनासा तथा विकास सम्बन्धी मागहरू सम्बोधन गर्न व्यस्त रहनुभयो।