स्याङ्जा। सोमबार गुल्मीमा भएको दुखद् सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ बजार पूर्ण रूपमा शोकमा डुबेको छ। वालिङका सफल निर्माण व्यवसायी, होटल व्यवसायी तथा सामाजिक अगुवाहरूले सवारी दुर्घटनामा ज्यान गुमाएपछि सम्पूर्ण नगरबासी स्तब्ध बनेका हुन्।
दुर्घटनामा परी वालिङ–१० का निर्माण व्यवसायी एवम् गाडी चालक ६७ वर्षीय दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१० का होटल व्यवसायी शिव पराजुली र अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधन भएको छ।
एउटै ठाउँका स्थापित व्यवसायीहरूलाई अकस्मात् गुमाउनुपर्दा अपूरणीय क्षति पुगेको र निक्कै पीडाबोध भएको वालिङ नगर उपप्रमुख कविता तिवारी गैरेले बताइन्। वालिङ–१० मा बसेर लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई एकैपटक गुमाउनुपर्दा आफन्त, सहकर्मी तथा स्थानीयहरू गहिरो चिन्ता र शोकमा छन्।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित दबौखानीमा सोमबार ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेका पाँच जनाको घटनास्थलमै र निता बगालेको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालहरूमा उपचार भइरहेको छ। दुर्घटनाको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया