चितवन राइनोजले विराटनगर किङ्ग्सलाई हरायो

चितवन राइनोजले विराटनगर किङ्ग्सलाई हरायो


काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले डेभिड मलानको अर्धशतकको मद्दतमा १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १४९ रन बनाउँदा अलआउट भयो ।

खेलको सुरुदेखि अन्तिम १६ औँ ओभरसम्म विराटनगर खेलमा हावी थियो । क्यारेबियन ब्याटर आन्द्रे रसेल मैदानमा लामा लामा छक्का प्रहार गरिरहेका थिए । तर १६ औँ ओभरको ५ औँ बलमा कमलसिंह ऐरीले खतरनाक देखिएका रसेललाई विवेक यादवको हातबाट क्याचआउट गराए । त्यसपछि चितवन खेलमा फर्कियो । रसेलले १४ बलमा ४ छक्का प्रहार गरी ३३ रन बनाए । उनी आउट हुँदा विराटनगरलाई २६ बलमा २६ रन आवश्यक थियो ।

तर, कमलसिंह ऐरीले १८ औँ ओभरका अन्तिम २ बलमा लगातार विकेट लिए । उनले एन्जेलो म्याथ्युज र रुपेश सिंहको विकेट लिए । समग्रमा जित नजिक पुगेको विराटनगरलाई ऐरीले चार विकेट लिएर चितवनको जितमा महत्त्वपूर्ण योगदान दिए ।

१९ औँ ओभरमा रिजन ढकालले २ विकेट लिएर खेलमा चितवनलाई हावी बनाए । उनको पाँचौँ बलमा देव खनालले नरेन साउदको क्याच ड्रप गरेपछि खेल २० औँ ओभरमा गयो । २० औँ ओभरमा टम टेलले शुभम रञ्जनेको विकेट लिएसँगै विराटनगर १४९ रनमा अलआउट भयो र ८ रनले पराजित भयो । खेलको टर्निङ प्वाइन्ट आन्द्रे रसेलको विकेट रह्यो ।